पन्ध्र महिनादेखि बन्द भएको मलेसियाकाे राेजगारी खुल्यो


काठमाडौं । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुलेको छ । नेपाल र मलेसियाबीच तीन दिनसम्म चलेको बैठकपछि बन्द रहेको रोजगार खुलाउने सहमति भएको हो । रोजगारी खुलाउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाली टोली शुक्रबार काठमाडौं आइपुग्ने र श्रममन्त्री गोकर्ण विष्टलाई ब्रिफिङ गरेपछि खुलाउने छ । हाल रहेको ३६ ओटा स्वास्थ्य संस्थाले नै स्वास्थ्य परीक्षण गर्ने र आवश्यकताअनुसार अरु संस्थालाई पनि अनुमति दिने सहमति भएको छ । स्वास्थ्य संस्थाको संख्याको विषयमा दुईदेशबीच असमझदारी थियो ।

मलेसियाको पुत्रजयामा दुई देशका उच्च अधिकारीबीच बिहीबार दिउँसो सम्पन्न संयुक्त कार्यदलको बैठकले रोजगारी खुलाउन सहमति गरेको हो। बैठक तीन दिनसम्म चलेको थियो। बैठकको नेतृत्व नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वरिष्ठ सह–सचिव रामप्रसाद घिमिरेले गरेका थिए ।

बैठकमा परराष्ट्र र कानुन मन्त्रालयका उच्च अधिकारीको पनि सहभागिता रहेको थियो। सहमतिपत्रमा मलेसियाको मानव संशाधन नीति विभागका प्रमुख बेट्टी हसन र नेपालको तर्फबाट श्रम मन्त्रालयका सहसचिव घिमिरेबीच हस्ताक्षर गरेका छन् ।

मलेसियाबाट आउने निरीक्षण टोलीले सूचीकृत नयाँ स्वास्थ्य संस्थाको निरीक्षण गर्नेछ। निरीक्षणमा पास हुने स्वास्थ्य संस्थालाई मात्रै बायोमेडिकल प्रणालीमा समावेश गरिने सहमति भएको छ ।

मलेसियाको मापदण्ड पुग्नेलाई छनोट हुने छन । बैठकमा नेपाली टोलीले स्वास्थ्य मापदण्ड पुर्‍याउने संस्थालाई बायोमेडिकलमा सहभागी हुनेपर्ने अडान राखेको थियो ।

नेपालद्वारा सूचीकृत १२२ मध्ये ८६ वटा नयाँ स्वास्थ्य संस्थालाई निरीक्षण गर्न आगामी नोभेम्बरको पहिलो साता टोली पठाउन मलेसिया सहमत भएको छ । बायोमेडिकल प्रणालीमा समावेश भइसकेका ३६ वटा स्वास्थ्य संस्थाहरुको भने निरीक्षण हुने छैन ।

प्रकाशित मितिः     २६ भाद्र २०७६, बिहीबार १७:४५  |