कोहलपुर बसपार्क शुक्रबारदेखि संचालनमा


कोहलपुर- कोहलपुरमा निर्माण गरीएको बसपार्क शुक्रबारदेखि संचालनमा आएको छ । संविधान दिवसको अवसरमा कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले बसपार्कको उद्घाटन गरेका हुन ।

निर्माण सम्पन्न भएको लामो समयसम्म पनि बसपार्क संचालनमा आउन सकेको थिएन । बसपार्कभित्र रहेका अब्यवस्थित टहरा हटाउने विषयमा विवाद सृजना भएपछि बसपार्क निर्माण कार्यले पूर्णता पाउन नसकेको स्थानियहरुले बताएका छन । विगत लामो समयदेखि बस्दै आएका ब्यवसायीहरुले आफुहरु बसोवास गर्दै आएको क्षेत्र नछाड्ने अडान लिएपछि त्यस क्षेत्रमा बन्ने भनिएको सपिङ कम्प्लेक्सले औपचारिकता पाएको छैन ।

विगत लामो समयदेखि अस्थायी बसपार्कका रुपमा रहँदै आएको कोहलपुर बसपार्क कालोपत्रे गर्ने क्रममा त्यस क्षेत्रमा बस्दै आएका ब्यवसायीहरु हट्न नमानेपछि विवाद सृजना भएको थियो । नगर विकास समिति कोहलपुरले उपलब्ध गराएको जग्गामा ७२ जना ब्यवसायीले टहरा निर्माण गरी व्यवसाय संचालन गर्दै आएका थिए । कोहलपुर नगर बिकास समितिले २०७५ साउन देखि व्यवसायीहरुसँगको सम्झौता रद्द गरी त्यस क्षेत्रमा आधुनिक सपिङ्ग कम्प्लेक्स निर्माण गर्ने निर्णय गरेको भएपनि ब्यवसायीहरुको विरोधपछि उक्त कार्य अघि बढ्न सकेको छैन ।

यसअघि कोहलपुर बसपार्कको अतिक्रमण हटाउन उच्च अदालत तुलसीपुर नेपालगञ्ज ईजलासले परमादेश जारी गरेको थियो । कोहलपुरका टेक राज आचार्य लगायत १७ जनाले अतिक्रमण हटाएर त्यस क्षेत्रमा आधुनिक सपिङ्ग कम्प्लेक्स निर्माण कार्य अविलम्व सुरु गर्नुपर्ने माग सहित अदालतमा दायर गरेको मुद्धाको किनारा लगाउँदै अदालतले माग दाबी अनुसार परमादेश जारी गरेको हो । तर अदालतको आदेशलाई समेत लत्याउँदै ब्यवसायीहरु सोही ठाँउमा बसिरहेका छन ।

कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले अदालतको गरेको फैसलाको औपचारी पत्र प्राप्त भएपछि मात्र कानुनी परामर्शका आधारमा नगरपालिका र नगरविकास समिति अगाडी बढ्ने बताए ।

प्रकाशित मितिः     ३ आश्विन २०७६, शुक्रबार १६:२०  |