नेपालगञ्ज -राष्ट्रिय स्तरका विकास बैंकको संख्या १० कायम हुने भएको छ । हालै ओम डेभलमपेन्ट बैंक एनएमबि बैंकमा गाभिएर एकीकृत कारोबार सुरु गरेपछि राष्ट्रिय स्तरका १० वटा विकास बैंक नै बाँकी छन् । तर, यसमध्ये पनि एउटा बैंक मर्जर जाने र अर्को थपिने क्रममा छन् । जसकारण, राष्ट्रिय स्तरका विकास बैंक पुनः १० कायम हुनेछन् ।
हाल मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, गण्डकी विकास बैंक, कैलाश विकास बैंक, देवः विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र ज्योति विकास बैंक संचालनमा छन् । यसमध्ये, गण्डकी विकास बैंक मेगा बैंकमा गाभिन लागेको छ ।
राष्ट्रिय स्तरको कारोबार गरिरहेका विकास बैंकहरु नै वाणिज्य बैंकमा विलय भइरहँदा एउटा क्षेत्रीय स्तरको बैंक भने राष्ट्रिय स्तरमा स्तरोन्नति हुने तरखरमा छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले रुपन्देही, नवलपरासी, अर्घाखाँची, गुल्मी, पाल्पा, दाङ, प्युठान, कपिलवस्तु, बागलुङ र चितवन गरी १० जिल्लालाई कार्यक्षेत्र बनाएर कारोबार गर्दै आएको छ । हालै तीन जिल्ले पूर्णिमा विकास बैंक र ५ जिल्ले भार्गव विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेपछि अब शाइन रेसुंगा कार्यक्षेत्र बढाएर राष्ट्रिय स्तरमा जाने प्रक्रियामा छ ।
दुई साना विकास बैंकलाई गाभेपछि दुई अर्ब ६२ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकले छिटै नै चार बराबर एकको अनुपातमा हकप्रद स्यर जारी गर्ने योजना अघि सारेको छ । मर्जरपश्चात् ६१ शाखा, कर्जा लगानी २३ अर्ब ८१ करोड, निक्षेप संकलन २६ अर्ब ८७ करोड, ग्राहक तीन लाख ७७ हजार र कर्मचारी ५४५ पुगेका छन् ।