काठमाडौं । सरकारले निर्णय गरेको एक वर्षमा कपडा उद्योगीले ब्याज अनुदान पाउने भएका छन् । सरकारले संकटमा रहेको कपडा उद्योगलाई राहत दिन गत मङ्सिरमा ५ प्रतिशत विन्दु ब्याज अनुदान दिने निर्णय गरेको थियो । सोही अनुसार आवश्यक कार्यविधि राष्ट्र बैङ्कले बनाएर अर्थमा पठाएको थियो ।
अर्थमन्त्रालयले सो कार्यबिधि मन्त्रीपरिषद् बैठकमा पेस गरेको अर्थ मन्त्रालयले जनाएको छ । ‘ब्याज अनुदान सम्बन्धी कार्यविधि राष्ट्र बैङ्कले बनाएर पठाइसकेको छ, हामीले त्यसलाई आवश्यक छलफल गरेर मन्त्रीपरिषदमा समेत पेस गरिसकेका छौं,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘मन्त्रीपरिषद्बाट स्वीकृति हुने वित्तिकै कपडा उद्योगीले अनुदान पाउँछन् ।’
कार्यविधि बनाउन केही समय लागेकोले ढिलाई भएको उनको भनाइ छ । उनले भने ‘विद्युत्मा अनुदान दिइसकेका छौं । यो आर्थिक वर्षको पनि अनुदान दिइन्छ । अहिले प्रक्रियामा छ । केही समय पछि ब्याज अनुदान पनि स्वीकृत भएर आउँछ ।’ कपडा उद्योग धरासायी हुने भएपछि गत वर्ष सरकारले विभिन्न सुविधा दिएको थियो । उपलब्ध गराइएको सुविधा मध्ये विद्युत्मा ५० प्रतिशत अनुदान कार्यान्वयनमा आइसकेको र ब्याज अनुदान केही समयबाट कार्यान्वयमा आउने अर्थले जनाएको छ ।
कपडा उद्योग संरक्षण गर्नुपर्छ भन्ने सोचाइले सरकारले विभिन्न सुविधा दिएको हो । नेपालमा चोरी पैठारी भएर कपडा भित्रिने गरेको र त्यसैका कारण स्वदेशी उद्योग धरासायी हुने अवस्थामा पुगेपछि सरकारले उद्योग बचाउन विभिन्न छुट दिएको ती अधिकारीले बताए । उद्योगीले गत आर्थिक वर्षसम्म विद्युत्मा ५० प्रतिशत अनुदान पाए पनि चालू आर्थिक वर्षको ४ महिना वित्तिसक्दा पनि उक्त अनुदान नपाइएको बताएका छन् ।
‘गत आर्थिक वर्षमा विद्युत्मा ब्याज अनुदान पाइएको थियो,’ कपडा उत्पादक सङ्कका उपाध्यक्ष जीतेन्द्र लोहियाले भने, ‘चालू आर्थिक वर्षबाट विद्युत्मा पाउँदै आएको अनुदान रोकिएको छ भने ब्याज अनुदान अहिलेसम्म पाइएको छैन ।’ अर्थका अधिकारीका अनुसार उद्योगीले विद्युतमा पाउँदै आएको सुविधा निरन्तर रहने र ब्याज अनुदान पनि छिटै पाउनेछन् ।