नेपालगञ्ज २२ कात्र्तिक – बाँकेको सेवाक्षेत्रमा नयाँ पूर्वाधार बन्दै गर्दा रोजगारी सिर्जनामा उत्साह थपिएको छ । जिल्लामा एकपछि अर्को गर्दै क्यासिनो, सुरपमार्केटदेखि फनपार्क सन्चालनको तयारीमा छन् । उनीहरुले रोजगारीका लागि स्थानीयलाई उच्च प्राथमिकता दिएपछि बेरोजगार भई बसेका युवायुवतीमा उत्साह थपिएको छ ।
बाँकेमा भाटभेनी सुपरमार्केट भित्रियो । कारकारदोमा निर्माण भइरहेको भाटभटेनी फाल्गुण महिनाबाट सन्चालन हुँदैछ । उक्त सुपरमार्केटले हालै मात्र एकैपटक ५० जना कर्मचारी माग गरेको थियो । पहिलो पटक निवेदन दिई छनौट भएका कर्मचारी तालिम पछि काममा लाग्ने छन् । दोस्रो पटक यो संख्या भन्दा धेरै जनाले रोजगारी पाउने निश्चित छ । एउटै सुपरमार्केटले यति धेरै रोजगारी सिर्जना गरेको हो । बाँकेमा रोजगारी दिनमा क्यासिनोले महत्वपूर्ण भूमिका खेलेका छन् । हाल सन्चालनमा रहेको होटल सोल्टीको लाईभ क्यासिनो र होटल स्नेहाको मिनि क्यासिनोले मात्र झण्डै दुई सय स्थानीयलाई रोजगारी दिएका छन् । सामान्य कर्मचारीदेखि ब्यवस्थापन समूहमा रहेका कर्मचारीले राम्रै आम्दानी समेत गरिरहेका छन् । नेपालगन्जलाई क्यासिनो सिटी बनाउने तयारी भइरहेका बेला यहाँ थप क्यासिनो सन्चालनमा आउँदै छन् ।
होटल सिद्धार्थ, सिग्नेट, कलपत्रु लगायतका होटलले क्यासिनो सन्चालन गर्ने योजना बनाइरहेका छन् । ती होटलले थप रोजगारी सिर्जना गर्ने एक जना होटल सन्चालकले बताए । उनका अनुसार, यि होटलमा सन्चालन हुने क्यासिनोले पाँचसय बढिलाई रोजगारी दिने छ । नेपालगञ्जमा तीनवटा फनपार्क निर्माणको अन्तिम चरणमा छन् । यि फनपार्कले कम्तिमा तीनसय जनालाई रोजगारी दिने सम्बद्ध फनपार्कका सन्चालक बताउँछन् । सन्चालनमा आउन लागेका फनपार्क, क्यासिनो मध्ये कतिले आन्तरिक प्रतिस्पर्धा गरेर कर्मचारी राख्छन् भने कतिले सार्वजनिक आह्वान गरेरै कर्मचारी भर्ती गर्ने गरेका छन् ।
सेवाक्षेत्रमा काम गर्ने अधिकास कर्मचारी स्थानीय नै हुन्छन् । उद्योग जस्तो भारतीय कामदार उक्त क्षेत्रमा हुँदैनन् । सोही कारणले पनि स्थानीय युवा युवतीलाई रोजगारी पाउन सजिलो भएको छ । बाँकेमा यि तीनवटा क्षेत्र बाहेक होटल क्षेत्रले पनि उत्साहजनकरुपमा रोजगारी सिर्जना गरेका छन् ।
रोजगारी सिर्जनाले उत्साह थपेको छ
पशुपति दयाल मिश्र – नेपालगञ्जका उद्यमी, नेता र समाजसेवी हुन । उनको प्लाई उद्योग छ । जहाँ झण्डै दुई सय कामदार कार्यरत छन् । नेपालगन्ज एक्वा फनपार्क सन्चालनमा आउँदै छ । सो फनपार्कले हालै मात्र सय बढि कर्मचारी माग गर्दै सार्वजनिक सूचना नै जारी गरेको थियो । मिश्रले संघीयता कार्यान्वयनपछि नेपालगञ्ज प्रशासनिक र राजनीतिकरुपमा कमजोर भए पनि आर्थिक क्षेत्रमा बलियो हुँदै गएको बताए । उनले सेवाक्षेत्रमा लगानी बढ्दै गएको र त्यसले रोजगारी सिर्जना गर्दा फेरी नेपालगञ्ज पश्चिमको केन्द्र हो भन्ने प्रमाणित गरेको बताउँछन् । उनले सेवाक्षेत्रमा भएको लगानी र त्यहाँबाट सिर्जना भएको रोजगारी टिकाइराख्न राज्यले पूर्वाधार बनाउनुपर्ने सुझाव दिए । नत्र लगानी र रोजगारी दुबै गुम्ने खतरा रहेको उनको भनाई छ ।