‘बीमा पहुँच सन्तोषजनक छैन, बीमा बुझाउनु जरुरी छ’


बीमाको सुरुवात भएको लामो समय भइसकेको छ । तुलनात्मक रुपमा यसको विकास र विस्तारलाई हेर्दा नेपालमा बीमा पहुँच अझै पनि कम छ । तथापी पछिल्लो समय बीमा समितिको सक्रियताका कारण बीमा पहुँचमा केही बृद्धि भएका तथ्याङकहरु आएका छन् । मानिसहरुमा बीमा शिक्षाको अझै पनि अभाव छ । यसलाई पाठ्यक्रममा हाल्न बीमा समितिको सक्रियता बढेको छ । तै पनि हालको बीमा पहुँच २० प्रतिशतको हाराहारीमा भएको बताइएको छ । सहरमा भन्दा गाउँमा बीमा शिक्षा झन कम्जोर छ । यो अबस्थामा नेपालको बीमा कहाँनिर छ ? भन्ने विषयमा बीमा क्षेत्रका विज्ञ भोजराज शर्मासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिन्छ ।

बीमालाई कसरी बुझ्ने ? बीमा के हो भनेर बुझ्ने ?

बीमा भनेको आर्थिक सुरक्षण गर्ने माध्यम हो । आफुलाई पर्ने आर्थिक जोखिम लगायतका विभिन्न संकटहरुबाट बच्नका लागि नै बीमा गर्नुपर्दछ । जोखिमलाई हामीले रोक्न सक्दैनौँ । तर, भएको जोखिमलाई केही हदसम्म कम गर्न सकिन्छ । सम्भावित जोखिमहरुलाई केही मात्रामा कम गराएर फेरी पहिलाकै अवस्थामा बस्न सक्ने माध्यम नै बीमा हो ।

बीमा क्षेत्रमा लामो समय बिताइसक्नु भएको छ । यो बीचमा तपाईँको अनुभव कस्तो रह्यो ?

सुरुमा मैले बीमा क्षेत्रमा काम गर्न थाल्दा केही विदेशी कम्पनीहरु मात्र थिए । ती विदेशी बीमा कम्पनीहरुले बीमा व्यवस्थापन राम्रोसँग गरेका थिएनन् । खासगरी उनीहरु एउटा एजेन्सीकै रुपमा थिए । नेपालबाट धेरै पैसाहरु बाहिर जाने गरेको थियो । नेपाल एउटा कलेक्सन सेन्टर जस्तो मात्र थियो । त्यो समयमा एलआईसी अफ ईन्डीया नामक कम्पनीले बीमा क्षेत्रको परिवर्तनमा धेरै योगदान पुर्याएको थियो । त्यो समयमा एलआईसी गर्ने र बीमा गर्ने भन्ने शब्द पर्यावाची जस्तै थियो । २०२४ सालमा स्थापना भई ०२५ सालमा संस्थानमा परिणत भएदेखि बीमा संस्थानले नेपालको वास्तविक बीमाको रुपमा काम गर्दै आएको हो । बीमा संस्थानको राम्रो विकास हुँदै आएपछि अन्य बीमा कम्पनीहरु पनि स्थापना हुँदै आए । अहिले बीमाको बजार फराकिलो भइसकेको छ । तर पनि सबै मानिसहरु बीमामा समेटिएका छैनन् । १८ प्रतिशत नेपालीहरुको मात्रै बीमामा संलग्नता रहेको छ । पहिलेको तुलनामा भने बीमाको पहुँच बढेको छ । तर यो पर्याप्त छैन । मुलुककै कमजोर अवस्थाका कारण बीमाको पहुँच नबढेको हो । बीमा पहुँच वृद्धिका लागि बीमा समिति र बीमा कम्पनीहरु अग्रसर हुँदै आएका छन् । बीमा कम्पनीहरु धेरै खुलेका छन् तर क्षमता अभिवृद्धिको रुपमा अगाडी बढ्न सकेका छैनन् । वित्तीय रुपमा मात्रै अघि बढेका छन् । बीमा क्षेत्रका कर्मचारीहरुमा दक्षताको कमी छ । यसै तथ्यलाई मध्यनजर गर्दै हालै बीमा समिति र बीमा कम्पनीहरुको सहकार्यमा बीमा तालिम इन्स्टिच्युटको सुरुवात गरिएको छ । यस इन्स्टिच्युटमार्फत बीमा क्षेत्रका कर्मचारीहरुको क्षमता बढाउने अपेक्षा गरिएको छ ।

पहिलेको अबस्था र अहिलेको अबस्थालाई हेर्दा बीमा क्षेत्रमा के के परिवर्तनहरु भए जस्तो लाग्छ ?

बीमा क्षेत्रमा सन्तोकजनक अवस्था छैन । पछिल्लो समयमा अनिवार्य रुपमा गर्नुपर्ने बीमाका कारण बीमा बजार बढेको छ । मोटर बीमा अनिवार्य भएकाले गर्दा मोटर चलाउने चालकले बीम गरेका छन् । बैंकहरुले ऋण प्रवाह गर्दा लिने धितोको अनिवार्य रुपमा बीमा गरिएको हुनुपर्छ । यस्ता खालका व्यवस्थाले गर्दा बीमा पहुँच बढेको छ । तर, यसलाई आधार मानेर बीमाको पहुँचमा धेरै बृद्धि भयो भन्न मिल्दैन ।

म बीमा क्षेत्रमा आवद्ध हुने बेलामा कुनै पनि बीमा अनिवार्य थिएन । त्यतिबेला वस्तुहरुको मूल्य पनि कम थियो । त्यसआधारमा बीमाको रेट पनि कम हुन्थ्यो । जीवन बीमा २५।५्र० हजारमा गरिन्थ्यो । अहिले त्यो अवस्था छैन । एउटै गाडीको ३०।४० लाख पर्छ भने एक करोडभन्दा कममा घर पाइँदैन । अहिले ठूलो सम्पत्तिको नोक्सान हुने डरले पनि मानिसहरु बीमा गर्न थालेका छन् ।

बीमा समितिको अर्थ बुझाउँदै यसको मूख्य उद्दे्रश्य बताइदिनुस् न ?

जसरी नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्दछ, त्यसैगरी बीमा कम्पनहीरुको नियमन बीमा समितिले गर्छ । सबै बीमा कम्पनीहरुलाई एउटा सही मार्गदर्शन गरी जनताहरुको सुरक्षाका लागि रेखदेख गर्न र बीमा कम्पनीहरुका लागि विभिन्न नीति नियमहरु तर्जुमा गर्नका लागि बीमा समितिको भुमिका गहन छ । बीमा समिति बीमा कम्पनीहरुको नियमनकारी निकाय हो । बीमा उद्योगलाई स्वस्थ बनाउनु, राम्रो र विश्वसनिय बनाउनु, बीमाको दायरा बढाउनु, आम नागरिकलाई यसको महत्व र आबश्यकता बुझाउनु बीमा समितिको उद्देश्य हो । बीमा क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेलेको छ । बीमाबाट उठेको करोडौँ रुपैयाँ नेपालमै लगानी भएको छ । यसको नेतृत्व बीमा समितिले गर्दछ भनेर बुझ्दा राम्रो होला ।

नेपालमा बीमा शिक्षाको अवस्था र आबश्यकता कस्तो छ ?

नेपालमा बीमा साक्षरता सन्तोषजनक छैन । गाउँ गाउँका मानिसहरुलाई बीमा भनेको थाहा नै छैन । बीमा बारे थाहा हुने नेपालीहरु अत्यन्त न्युन छन् । सहरका मानिसहरुलाई बीमा बारे केही कुरा थाहा भए तापनि सहभागिता यहाँ पनि कम छ । ग्रामिण तहमा कृषि बीमा आएपछि केही हदसम्म बीमा साक्षरता बढेको छ । पछिल्लो समय कृषिमा पनि र अन्य क्षेत्रमा पनि बीमा गर्नेहरु भने बढेका छन् । नेपाल सरकारले कृषिमा ७५ प्रतिशत अनुदान दिएपछि बीमा बढ्दै आएको हो । साथै भुकम्पपछि मानीसहरुमा बीमा गर्नुपर्दो रहेछ भन्ने चेतनाको विकास हुँदै आएको छ । तर प्रयाप्त अबस्थामा छैन ।

बीमा पहुँच बढाउनका लागि बीमा समितिले विभिन्न किसिमका योजनाहरु ल्याएको छ । बीमा लेखहरु सबैले बुझ्ने गरी सुलभ र सरल बनाएको छ । ग्रामीण भेगमा बीमा कम्पनीको उपस्थिती बढाउनका लागि गाउँमा दुई वटा शाखा विस्तार गरेपछि मात्रै सहरमा एउटा शाखा विस्तार गर्ने अनुमति दिने व्यवस्था गरिएको छ । त्यस्तै, लघुबीमाको अवधारणालाई पनि प्राथमिकताका साथ अगाडी ल्याइएको छ । यसले गर्दा भविश्य सकारात्मक र सुखद छ, गर्नुपर्ने धेरै छ । समग्रमा बीमा शिक्षा बढाउनुपर्ने तड्कारो खाँचो छ ।

बीमा कम्पनीहरु थपिँदा बीमा बजारमा कस्तो प्रभाव परेको छ ?

पछिल्लो समयमा बीमा कम्पनीहरुको संख्या धेरै बढेको छ । यसले बीमा बजारमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ । डिमाण्ड नभई सप्लाई मात्रै बढी भएको हो कि भनेर हामी डराएका पनि थियौँ । तर, बीमा समितिको नियमनभित्र बस्छौँ भन्ने कम्पनीहरुलाई अनुमति दिएपछि अहिले शाखाको विस्तार राम्रोसँग भएको छ । यसले गर्दा बीमा बजार फस्टाएको छ, बीमाको पहुँच बढिरहेको छ । सप्लाईले डिमाण्डलाई क्रिएट गरिरहेको छ ।

तपाई बीमा विज्ञ हुनुहुन्छ, तपाईको नजरमा नेपालको बीमा र अन्तराष्ट्रिय बीमा क्षेत्रमा के फरक छ ?

बीमाको सिद्धान्त एउटै हो । विदेशी इन्स्योरेन्स एशोसिएसनमा नेपाल पनि संस्थापक सदस्य रहेको छ । हामी पनि अन्तराष्ट्रिय मान्यता हनुसार नै चल्नुपर्छ । हामीले आफैँ बीमाका सिद्धान्तहरु बनाएर काम गर्न सक्दैनौँ । बीमाका ५ वटा सिद्धान्त हुन्छन् । बीमा समितिले विदेशमा पुनर्बिमा गर्नुपर्ने हुन्छ । सेवा, सुविधाका आधारमा भने नेपालको बीमा र अन्तर्राष्ट्रिय बीमामा केही अन्तरहरु छन् । नेपाली कम्पनीहरुको तुलनामा विदेशी बीमा कम्पनीहरुको क्षमता बढी भएका कारण बिमितलाई सुविधा पनि धेरै दिएका छन् । प्रविधिमैत्री बजार भएका कारण पहुँच पनि बढी छ । हामी केही पछाडि छौं तर सक्रिय अबस्थामा छौं ।

नेपालको बीमा क्षेत्रमा सुधार गर्नुपर्ने कुराहरु के के हुन सक्छन् ?

नेपालमा बीमा शिक्षाको अवस्था एकदमै दयनीय छ । त्यसैले, सबै मानिसहरुमा बीमा चेतना फैलाउनु नै सबैभन्दा ठूलो आवश्यकता बनेको छ । यसका अलावा बीमा मुल्य सबैलाई सुलभ र सरल बनाउनुपर्छ । बीमा पोलीसीहरु पनि सबैले बुझ्ने बनाउनुपर्छ । बीमा कम्पनीहरु मात्रै नभएर सर्वसाधारण आफैँले पनि आफ्नो सम्पत्ति र जीवनको सुरक्षाका लागि आफैँ सजग हुनुपर्छ । अरुको करकापमा भन्दा पनि आफैँ महत्व बुझेर बीमा गर्न अग्रसर हुनुपर्छ । बिमक र बिमित दुबैको पहलमा बीमा क्षेत्रको दायरा फराकिलो बनाउन सकिन्छ ।

(बैंकिंगखबरबाट साभार गरिएको हो ।)

प्रकाशित मितिः     10:52:40 AM  |