काठमाडौं। सरकारले ब्याज अनुदानको ऋण कपडा उद्योगका लागि समेत उपलब्ध गराउने भएको छ। साथै प्राविधिक शिक्षा तथा ब्यवासायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमका लागि पनि ऋण उपलब्ध गराउने भएको छ।
यसअघि सरकारले ब्यवसायिक कृषि, शिक्षित युवा वेरोजगार, विदेशबाट फर्किएका युवा, महिला उद्यमी, दलित, उच्च र प्राविधिक शिक्षाका लागि अनादनको ऋण उपलब्ध गराउँदै आएको थियो।
अब भने अरु दुई क्षेत्र पनि समेटिएको छ। अबदेखि ५ करोडसम्मको कपडा उद्योगले पनि सहुलियत ब्याजमा ऋण पाउने छन्। प्राविधिक शिक्षा तथा ब्यवासायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमका लागि २ लाखसम्म ऋण उपलब्ध हुने छ।
बैंकहरुले यस्तो ऋण आधार दरमा २ प्रतिशत प्रिमियम लिएर मात्र दिन पाउँछन्। मानौ कसैको आधार दर १० प्रतिशत छ भने उसले १२ प्रतिशतसम्म मात्र ब्याज लिन पाउँछ। १२ प्रतिशतमध्ये सरकारले ५ प्रतिशत तिरिदिने छ। यसो हुँदा ऋणले ७ प्रतिशत मात्रै ब्याज तिरे पुग्छ।