घरजग्गाको भाउ कता गइरहेको छ भनेर हेर्न रियलस्टेट इन्डेक्स बनाइँदै


काठमाडौं। नेपाल राष्ट्र बैंकले घर जग्गाको कारोबार सम्बन्धी जानकारी दिने रियलस्टेट इन्डेक्स बर्षको अन्तिममा सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकले पोहोरदेखि नै इन्डेक्स निर्माणको काम थालेको थियो।

इन्डेक्स निर्माणको काम धमाधम भैरहेको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले जानकारी दिए।

बैंकले तथ्याङक संकलनको लागि २० जिल्लाको ६ महानगरपालिका, २ उपमहानगरपालिका १४ नगरपालिकाका चयन गरेको छ। कुल ४० वडामा नमुना संकलन गरिएको छ।

यसबाट २ हजार ५ सय ७१ नमूनालाई समेटेर सर्वेक्षण गरिएको छ। तथ्याङक संकलनमा मालपोत कार्यालय, घर जग्गा व्यवसायी, इन्जिनियर मूल्याङकनकर्ता लगायत विज्ञहरुको सहभागीता रहेको बैंकले जनाएको छ।

इन्डेक्सका लागि २ स्थानबाट तथ्याङक लिने काम भैरहेको छ। मालपोत कार्यालय र बैंक तथा वित्तीय संस्था। मालपोत कार्यालयबाट लिइएको तथ्याङ्क सरकारी न्युनतम मुल्याङ्कनमा आधारित छ भने बैंकबाट लिइने तथ्याङक बैंङकको मूल्याङ्कनमा आधारित हुन्छ।

नमूना सर्वेक्षणबाट कुन क्षेत्रमा कति बराबरको कारोबार भयो, कुन क्षेत्रमा जग्गाको मूल्य बढ्यो/घट्यो, कारोबारको रफ्तार कस्तो छ भन्ने तथ्याङक बैंकले संकलन गरिरहेको छ।

इन्डेक्स निर्माणका लागि बैंकले डेपुटी गभर्नरको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो। जसमा केन्द्रीय तथ्याङक विभागका महानिर्देशक सुमनराज अर्याल, त्रिभुवन विश्वविद्यलय तथ्याङक विभागका प्रमुख, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट सदस्य रहेका छन्।

के हो रियल स्टेट इन्डेक्स ?

धितोपत्र बजारको सूचकाङ्क नेपाल स्टक एक्चेजले नेप्से सूचकमार्फत मापन गर्छ। मूल्य बृद्धिलाई मूल्य सूचकले हेर्छ। समग्र आर्थिक गतिविधि के भइराछ भनेर बुझ्नका लागि कुल गाह्थ उत्पादन (जिडिपी मापक) सूचक हुन्छ।

घरजग्गा कारोबारको गतिविधि पनि रियलस्टेट इन्डेक्समार्फत हेरिन्छ। मुलुकको आर्थिक अवस्था कता गइरहेको छ भनेर हेर्न एसेट प्राइस (सम्पतिको मूल्य) मा भएको उतारचढावलाई हेर्नु पर्छ।

एसेट प्राइसमा वित्तीय र भौतिक सम्पतिलाई आधार मानिन्छ। वित्तीय सम्पति व्यक्ति वा संस्थाको स्वामित्वमा रहेको शेयर, ऋणपत्रमा देखिन्छ। कुन संस्था कति धनि छ? भनेर बुझ्न उसको वित्तीय र भौतिक सम्पति हेर्नुपर्छ।

‘घरजग्गामा भइरहेको मूल्यको उतारचढाबलाई हेर्नका लागि घरजग्गा प्राइस  इन्डेक्स बनाउने तयारी गरेका हौं,’ कार्यकारी निर्देशक भट्टले भने।

भट्टका अनुसार, वित्तीय साधन एकै स्थानमा मात्र सिमित भए त्यसले अर्थतन्त्रमा जोखिम बढाउँछ। वित्तीय साधनको प्रयोग कसरी भइरहेको छ भन्ने कुरा केन्द्रीय बैंकले बुझ्नको लागि रियलस्टेट इन्डेक्स आवश्यक परेको हो।

के हुन्छ फाइदा
भट्टले इन्डेक्स तयार भइसकेपछि यसले राष्ट्र बैंकले तर्जुमा गर्ने मौद्रक नितिको प्रसारण संयन्त्रको रुपमा काम गर्छ। इन्डेक्स तयार भएपछि घरजग्गाको मूल्यमा हुने उतारचढावलाई मापन हुनथाल्छ। यसमा ठूलो उतारचढाव आउन थाल्यो भने आवश्यक नितिगत सुधार गर्न सकिन्छ।

सूचकाङ्कले नीति निर्मातालाई आर्थिक स्रोत साधनलाई सही दिशामा प्रयोग गर्नका लागि सहज बनाइदिन्छर वित्तीय स्रोत साधनलाई एकै ठाउँमा वा अनुत्पादक ठाउँमा प्रयोग गर्न रोक्छ।

सरोकारवालाहरुले जग्गाको मूल्यको उतारचढाव बारेमा जानकारी प्राप्त गर्न सक्छन्। यस्तो जानकारीबाट सरोकारवालाहरुले कतिबेला घरजग्गामा लगानी गर्ने र कतिबेला लगानी नगर्ने भन्ने विषयमा स्टक मार्केटमा जस्तै निर्णय लिने वा योजना बनाउन सक्छन्। समयमा सूचना र तथ्याङ्क नहुँदा लगानी फसाउनु पर्ने अवस्था उनीहरुलाई हुँदैन।

इन्डेक्स तयार भएपछि गत बर्ष सूचक कति अंकमा पुगेको थियो यो वर्ष कतिमा पुग्न सक्छ भनेर लगानीकर्ताहरुले अनुमान लगाउन सक्छन्। यसबाट धितोपत्रमा लगानी गर्ने व्यवसायीले जस्तै अगाडि बर्षको रियलस्टेट तथ्याङ्कलाई पनि अन्दाज गर्न सकिन्छ।

‘यसबाट घरजग्गमा हुने सट्टेबाजीलाई निरुत्साहित गराउँछ भन्ने हाम्रो विश्वास हो। लगानीकर्ताहरुमा लहैलहैमा लागेर लगानी गर्ने व्यवहारको अन्त्य पनि हुन्छ,’ भट्टले भने।

उनले  इन्डेक्स तयार भएपछि सम्पतिको मूल्यमा अनावश्यक बृद्धि हुन्छ कि हुँदैन भनेर त्यसको पूर्वानुमान लगाउन पनि सहज हुने बताए।

 सातै प्रदेशको बजारको सूचक 
कार्यदलले सुरुमा सातै वटा प्रदेशको मुख्य बजारहरुको सूचकाङ्क तयार गर्ने छ। पहिलो चरणमा काठमाडौं उपत्यका, पोखरा, इटहरी, महेन्द्रनगर, भैरहवा, सुर्खेत, दाङ तुल्सीपुर, हेटौंडा, विराटनगर, झापा, इलाम लगायत स्थानहरुको इन्डेक्स तयार गर्ने तयारी भइरहेको उनले बताए।

यसका लागि बजार केन्द्रलाई नै प्राथमिकतामा राखिएको छ। यो इन्डेक्स त्रैमासिक वा अर्द्धबार्षिक रुपमा सार्वजनिक गरिने भट्टले बताए।

प्रकाशित मितिः     १० मंसिर २०७६, मंगलवार ११:२८  |