ऋणीहरु जति पारदर्शी हुन्छन्, बैंकले कर्जा दिने प्रक्रिया त्यति नै सहज हुँदै जान्छ


  • लक्ष्मी प्रपन्न निरौला

अहिलेको अवस्थामा नेपालको सबैभन्दा व्यवस्थित, विकसित र पारदर्शीता कायम गर्न सक्ने क्षेत्र भनेको बैंकिङ क्षेत्र हो । कर्जा लिँदाको प्रक्रिया केही छन्, जुन व्यवसायी साथीहरुलाई खड्किरहेको छ । तर, बैंकहरु जसरी नै व्यवसायीहरु पनि पारदर्शी हुने हो भने भोलीका दिनमा बैंकहरुले पनि कर्जा लिँदा धितो लिने कुराहरु विस्तारै हराउँदै जान्छ । ऋणीहरु जति पारदर्शी हुन्छन्, बैंकहरुले कर्जा दिने प्रक्रिया त्यति नै सहज हुँदै जान्छ । यो विषयमा हिजोको तुलनामा आज केही सुधारहरु पक्कै भएका छन् । भोलीका दिनमा सबै अप्ठ्याराहरु हट्दै जानेछन् ।

जसरी हुन्छ लगानीमैत्री वातावरण तयार गर्ने र उद्यमशीलता बढाउने हाम्रो उद्देश्य हो । लगानीमैत्री वातावरण तयार गर्नका लागि राष्ट्र बैंक मात्र हैन अन्य निकायहरु पनि मिलेर काम गर्नुपर्छ । राष्ट्र बैंकले आफ्नो तर्फबाट प्रयास गरिरहेको छ । उद्यमशीलता बढाउनका लागि लिजिङको कुरा बजेटमा आएको थियो । लिजिङ सम्बन्धी कानुन आएपछि व्यवसायी बन्न चाहने वा उद्यम गर्न चाहनेहरुका लागि अझ सहज हुन्छ । लिजिङको बेसमा बैंकहरुले फाइनान्सिङ गर्न थालेपछि सजिलो हुन्छ । यसरी लगानीमैत्री वातावरण बन्दै जान्छ ।

नेपालमा कृषि क्षेत्रको अवस्था चाहिँ खासै राम्रो नभएको देखिन्छ । भोलीका दिनमा ल्याण्ड पुलिङ गरेर लिजिङका आधारमा फाइनान्सिङ हुन्छ । यसले प्रोडक्टिभिटी पनि बढाउँछ र बार्गेनिङ क्यापासिटी पनि बढाउँछ । अहिले मार्केटले मूल्य निर्धारण गरेको छ भने भोली उत्पादनकर्ताहरुले मूल्यलाई ड्राइभ गर्न सक्ने अवस्था आउँछ । यस्तो खाले वातावरण तयार गर्न हामीले प्रयास गरिरहेका छौँ ।

नेपालको सन्दर्भमा पहाडी भेगमा पाइने चिया, हाइ एल्टिच्युडमा हुने कफि, ओखर लगायत केही कुराहरुको विश्वमै उत्कृष्ट उत्पादन गर्न सकिन्छ । यो विशेषता हामीलाई प्रकृतिले नै दिएको छ । हामीसँग प्रकृतिले दिएका थुप्रै सम्भावनाहरु छन् । यसलाई यथार्थमा बदल्न बाँकी छ, जुन काम अब विस्तारै हुन थालेको छ ।

मूख्य समस्या भनेको कृषि कर्जाको छ । युवा, शैक्षिक कर्जा लगायतमा धेरै गुनासोहरु आउने गरेको छ । यस्तो कर्जा दिँदा बैंकले सीप हेर्छ । आफूले दिएको कर्जाको सावाँ व्याज फिर्ता हुन्छ भन्ने विश्वास भयो भने बैंकले कर्जा दिन्छ । त्यसैले, ब्यांकेबल प्रोजेक्टहरु छानेर कर्जा लिन जानुपर्छ । बैंकहरु पनि रिस्क कहाँ छ र त्यो रिस्कलाई कसरी मिनिमाइज गर्ने भन्ने कुरामा बैंकहरु पनि संयमित हुनुपर्छ र उद्यम गर्नका लागि कर्जा माग्न जाने ग्राहक पनि आफ्नो प्रोजेक्ट र उत्पादन क्षमताबारे प्रष्ट हुनुपर्छ । (राष्ट्र बैंकका प्रवक्ता निरौलाद्धारा व्यक्त विचारमा आधारित)

प्रकाशित मितिः     १९ मंसिर २०७६, बिहीबार १६:१२  |