सुर्खेतका होटलको गुणस्तर वर्गीकरण गरिदै


सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य स्वच्छताका आधारमा वीरेन्द्रनगरका होटल तथा रेस्टुराँको वर्गीकरण शुरू गरेको छ । होटलको वर्गीकरणपश्चात् स्तरीकरण मूल्यांकन सूचकांकको कामलाई अघि बढाइने भएको छ ।

खाद्य स्वच्छताका आधारमा होटल तथा रेस्टुराँ स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार भागमा विभाजन गरिएको छ । ९० अंकभन्दा माथि ल्याउने होटल ‘क’ वर्गमा, ८० देखि ८९ अंक ल्याउने होटल ‘ख’ वर्गमा, ६५ देखि ७९ अंक प्राप्त गर्ने होटल ‘ग’ वर्गमा र ५० देखि ६४ नम्बर प्राप्त गर्ने होटल तथा रेष्टुरेन्ट ‘घ’ वर्गमा समावेश हुने कार्यालयका निमित्त कार्यालय प्रमुख भेषबहादुर थापाले बताए ।

होटल तथा रेस्टुराँको बाहिरी तथा भित्री भागको सफाइ, प्रयोग गरिने खाद्यवस्तु, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषाक्त भएका खानेकुराको व्यवस्थापनलगायतका ५० ओटा मापदण्डमा होटलको मूल्यांकन गरिएको छ । मंगलवार गरिएको निरीक्षणको क्रममा ३ ओटा होटलको मात्र स्तरीकरण गरिएको छ । वीरेन्द्रनगरका नाम चलेका होटल सिद्धार्थ, होटल शुभ र नमस्ते होटलमा गरिएको निरीक्षणका क्रममा दुई स्तरसम्म सुधार भएको पाइएको छ ।

‘ती होटलले खाद्य स्वच्छताको विषयमा न्यूनतम मापदण्ड अझै पूरा गर्नुपर्ने देखिन्छ,’ थापाले भने, ‘सुधारको लागि निर्देशन दिइएकाले उनीहरू स्तरोन्नतिका लागि प्रयासरत रहेको पाइएको छ ।’ होटल शुभको खाद्य स्वच्छता यसअघि सन्तोषजनक मात्र रहेकोमा अहिले सुधार गरी अति उत्तम भएको छ भने होटल सिद्धार्थले अझै केही सुधारका काम गर्नुपर्ने देखिएको स्तरीकरण समितिले बताएको छ ।

त्यस्तै, होटल नमस्ते आफ्नो पूर्ववत् उत्तम स्थानमै रहेको छ । होटल व्यवसायी संघ, राष्ट्रिय उपभोक्ता मञ्च, सुर्खेत उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले निरीक्षण गरेको थियो ।

प्रकाशित मितिः     २० मंसिर २०७६, शुक्रबार ०८:३७  |