३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण, प्रथम भयो कालिका कन्स्ट्रक्सन


काठमाडौं।  नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ।

निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्‍याउने व्यक्ति, संघ–संस्था तथा फर्म/कम्पनीहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको महासंघका अध्यक्ष रवि सिंहले बताए।  ‘ए’ क्लासतर्फ गोल्ड अवार्डको उपाधि कालिका कन्स्ट्रक्सनले जित्दा सिल्भर अवार्ड जय धनञ्जय निर्माण सेवाले जितेको छ। ब्रोन्ज अवार्ड तुँदी कन्स्ट्रक्सनले पाएको छ।

‘बी’ क्लासतर्फको गोल्ड अवार्ड जय विष्णु निर्माण सेवा प्रालिले हात पारेको छ। ‘बी’ क्लासतर्फ सिल्भर अवार्ड के एम इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिले जित्यो। नयाँ बाटो निर्माण प्रालिले ‘सी’ क्लासतर्फको गोल्ड अवार्ड जित्न सफल भएको छ। सिल्भर र ब्रोन्ज अवार्ड भने क्रमशः शाह निर्माण सेवा र पुष्प निर्माण सेवाले जितेका छन्।

‘डी’ क्लासतर्फ प्रदेश ७ मा श्रीपुर बिल्डर्स प्रालि उत्कृष्ट भएको छ। प्रदेश ३ मा आइएस निर्माण सेवा उत्कृष्ट हुँदा प्रदेश १ मा आर्शिवाद निर्माण सेवा उत्कृष्ट ठहरियो।  भूगोलअन्तर्गत हिमालतर्फ गोरखा निर्माण व्यवसायी संघ, पहाडमा काभ्रे व्यवसायी संघ र तराइतर्फ लुम्बिनी निर्माण संघले अवार्ड हात पारेका छन्।

उदाहरणीय निर्माण कार्य गर्ने इलिायट–एडभान्चर–लोहनी जेभीका मोतीलाल शर्मा र समानान्तर–डाँफे जेभीका अच्युतप्रसाद खरेलले पनि अवार्ड जितेका छन्।

नेपाली निर्माण क्षेत्रमा विशिष्ट योगदान दिए वापत एफक्यान ग्लोरी अवार्ड महासंघका पूर्वअध्यक्ष स्वर्गीय शरदकुमार गौचनलाई प्रदान गरियो। अग्रणी इन्जिनियरको रुपमा स्वर्गीय प्राडा दिपक भट्टराई सम्मानित हुँदा उत्कृष्ट महिला निर्माण व्यवसायीका रूपमा कालिकोटकी ताराकुमारी शाह पुरस्कृत भएकी छन्।

प्रकाशित मितिः     २२ मंसिर २०७६, आईतवार १३:३७  |