नेपालगञ्ज २२ मंसिर – स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि आइतबार बिहान १० बजेदेखि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले अवस्था नियन्त्रणभन्दा बाहिर जान लागेकाले कर्फ्यू लगाउने अवस्था आएको बताए । प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले ईलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निशेधित घोषणा गरेको छ ।
सुरक्षा समितिको बैठक बसेर त्यसबारेमा निर्णय लिने उपाध्यायले बताए । आइतबार बिहान ना२ख ९४५९ नम्बरको ट्रकले भे ६प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा कोहलपुर ११ की १२ वर्षीया प्रकृति चन्दलाई घाइते भएकी हुन् । बालिका ठक्कर दिएर गम्भीर घाइते भएपछि स्थानीयले ट्रक जलाएका छन् । आन्दोलन रोक्न प्रहरी चलाएको गोली लागेर त्रिभुवन मावि कक्षामा ९ मा पढ्ने शुसिल थापा गम्भीर घाईते भएका छन । घाईते थापाको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । प्रहरी समेत घाइते भएका छन् ।आन्दोलन नियन्त्रण ल्याउनका लागि एक सय भन्दा बढि रवट गोली समेत प्रहार गरिसकेको छ ।