नेपालमा सवारीसाधनको खपत बढेसंगै यसमा प्रयोग हुने लुब्रिकेन्ट्सको माग समेत उच्च छ । माग बढेसंगै बजारमा नयाँ नयाँ ब्रान्डका लुब्रिकेन्ट्स आयत हुने क्रम समेत बढ्दो छ । हालसम्म नेपालमा १ सय भन्दा बढी ब्रान्डका लुब्रिकेन्ट्स भित्रिए पनि करिब २ दर्जन ब्रान्डका लुब्रिकेन्ट्सले सबैभन्दा बढी चर्चा बटुल्न सफल भएका छन् ।
नेपालमा अहिले बिश्वबजारमा उत्पादन हुने प्राय सबैजसो ब्रान्ड उपलब्ध छ । केही ब्राण्डले भने नेपालमै उत्पादन समेत गरिरहेका छन् । सवारीसाधनका लागी अत्याबश्यक मानिने लुब्रिकेन्ट्स आयतमा ठूला व्यापारिक घरनासमेत संलग्न छन् । सवारीसाधनसंगै आफ्नै ब्राण्डमा लुब्रिकेन्ट्स भित्राउने कम्पनीहरुको सुची नेपालमा बढ्दै गैरहेको छ ।
पछिल्लो समय हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले बिश्व प्रख्यात टोटल लुब्रिकेन्ट्स आफू मातहात कारोबार गरिरहेको छ । उसले टोटल बाहेक कोरियाबाट एस आयल नामको लुब्रिकेन्ट्स समेत आयत गर्दै आइरहेको छ । हाल हुन्डाई गाडीमा यी लुब्रिकेन्ट्स प्रयोग हुँदै आइरहेको छ ।
टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले भारत पेट्रोलियम कर्पोरेसनले उत्पादन गर्ने म्याक लुब्रिकेन्ट्स आयत गर्दै आइरहेको छ । सिप्रदी आफैले म्याक लुब्रिकेन्ट्स आयत गर्ने हुँदा टाटा गाडीमा म्याकलाई अनिबार्य जस्तै गरिएको छ ।
मारुती सुजुकी आयत गर्ने सिजी मोटो कर्पले नेपालमै गल्फ लुब्रिकेन्ट्स समेत उत्पादन गर्छ । उक्त कम्पनीले मारुती सुजुकीमा गल्फ लुब्रिकेन्ट्स प्रयोग गर्दै आइरहेको छ । कम्पनीले गल्फका उच्च ग्रेडका इन्जिन आयल भने बाहिरबाट आयत गर्दै आइरहेको छ ।
फक्सवागन, रेनल्ट र सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता बिशाल ग्रुपले समेत आफ्नै ब्राण्डको लुब्रिकेन्ट् आयत गर्दै आइरहेको छ । उक्त ग्रुपले भिडोल र मोटुल ब्रान्ड आयत गर्दै आइरहेको हो । बिशाल ग्रुपले आयत गर्ने सवारीसाधनमा यी लुब्रिकेन्ट्स बाहेक अन्य ब्रान्ड समेत प्रयोग हुँदै आइरहेको छ ।
नेपालमा सर्बाधिक बिक्री हुने बजाज मोटरसाइकलमा इण्डियन आयल कर्पोरेसनले उत्पादन गर्ने सर्बो लुब्रिकेन्ट्स बढीमात्रामा प्रयोग हुने गर्छ । कम्पनीको आधिकारिक सर्भिस सेन्टरमा सर्बोलाई अनिबार्य नै गरिएको छ । जसको कारण हो नेपालमा बजाज र सर्बो मोटरसाइकल आयत गर्ने कम्पनी एउटै हुनु । यी दुबै ब्रान्डलाई गोल्छा अर्गनाइजेसन अन्तर्गतको हंसराज हुलासचंद एण्ड कम्पनीले आयत गर्दैै आइरहेको छ ।
पछिल्लो समय यामाहा मोटरसाइकल र जेसिब इक्विपमेन्ट लगायत स्कोडा, फियाट, जीप र फोटोन गाडी आयत गर्ने एमएडब्लु इन्टरप्राइजेजले समेत आफ्नै ब्रान्डको लुब्रिकेन्ट्स भित्राएको छ । उसले हिन्दुस्तान पेट्रोलियमको उत्पादन एचपीलाई हालसालै आफू माताहात लिएको हो । अब एमएडब्लुमार्फत कारोबार हुने सवारी ब्रान्डमा समेत एचपी नै बढी मात्रामा प्रयोग हुने निश्चित देखिएको छ ।
आइसर गाडी आयत गर्ने बतास अर्गनाइजेसनको पनि आफ्नै ब्राण्डको इन्जिन आयल छ । उसले बिश्वप्रख्यात पेट्रोनास लुब्रिकेन्ट्स आयत गर्दै आइरहेको छ । हाल आइसरका गाडीमा पेट्रोनासकै प्रयोग भैरहेको छ ।
अन्य कम्पनीको पनि आफ्नै जेन्युइन आयल
नेपालमा आयत हुने अन्य ब्रान्डका हकमा पनि कम्पनीले आफ्नै ब्रान्डको इन्जिन आयल आयत गर्दै आइरहेका छन् । टोयोटाको आफ्नै टोयोटा जेन्युइन मोटर आयल(टिजिएमओ), निशान र ड्याट्सनको निशान जेन्युइन आयल, होन्डाको होन्डा जेन्युइन आयल, हिरोको हिरो जेन्युइन आयल र हेभी इक्विपमेन्ट्सहरुको पनि आफ्नै ब्रान्ड नाममा जेन्युइन आयल आयत हुँदै आइरहेको छ ।