देशको पश्चिमी भेगबाट प्रवेश गरेको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा भारी हिमपात भएको छ भने पहाडी तथा तराई क्षेत्रमा वर्षा भएको छ । बुधबार रातिबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीको प्रभावले आज बिहानैदेखि हिमाली भेगमा हिमपात तथा तराई र पहाडका क्षेत्रमा वर्षा र शीतलहर सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली प्रदेशको हुम्ला उच्च हिमाली भाग, मुस्ताङ लगायतका क्षेत्रमा भारी हिमपात भइरहेको छ ।
मुस्ताङको न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियम झरेको छ । तापक्रम घटेपछि यहाँका खोला तथा ताल जमेका छन् भने जनजीवन प्रभावित भएको छ । राष्ट्रिय समाचार समिति (रासस) का अनुसार, हिमपातले डोटी, डोल्पालगायत क्षेत्रको जनजीवन पनि प्रभावित बनेको छ । पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपात भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा अनुरोध गरेको छ । विभागका अनुसार, हिमपातको यो सिलसिला मंसिर २९ गतेसम्म जारी रहनेछ । त्यस्तै तराईका भाग भने शीतलहर र तुवालोको चपेटामा परेका छन् ।
तवालो लागेपछि तराईका कतिपय जिल्लाको हवाई उडान प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार, काठमाडौंसहित दीपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज लगायत स्थानमा वर्षा भएको छ । बिहान ८ः४५ सम्ममा सबैभन्दा धेरै धनगढीमा ४५ मिलिमिटर वर्षा भएको छ ।
नेपालगञ्जमा १४ र डडेल्धुरामा ६ मिलिमिटर वर्षा मापन भएको छ । काठमाडौंमा पनि शुक्रबार बिहान सामान्य वर्षा भएको छ । विभागका अनुसार, शुक्रबार देशभरको मौसम बदली भई हल्का तथा मध्यम वर्षा हुने योग छ । शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुनेछ ।
आइतबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानहरुमा साथै मध्य र पूर्वका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना महाशाखाले औंल्याएको छ । मौसममा विकास भएको नयाँ प्रणाली शनिबारसम्म जारी रहने छ ।
शनिबारपछि भने विस्तारै मौसममा सुधार आउने मौसमविद्को अनुमान छ । हिमपात र पानी परेपछि भने गहुँ बाली लगायतका हिउँदे खेती गरेका किसान भने खुसी भएका छन । सिंचाईको अभावमा खासगरी आकाशे पानीको भरमा खेती गर्दै आएका किसानले बर्षा र हिमपातले राहत दिएको छ ।
देशकै सबैभन्दा धेरै गर्मी हुने ठाउँ नेपालगंजमा बर्षा भए सगैं चिसो पनि बढेको छ । बजारमा आउजाउ पनि पातलिदै गएको छ ।