राष्ट्रिय स्तरको बन्यो ‘शाइन रेसुंगा डेभलपमेन्ट बैंक’


२०६५ सालमा तीन जिल्ले विकास बैंकको रुपमा स्थापना भएको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको राष्ट्रिय स्तरमा स्तरोन्नति भएको छ । यस बीचमा बैंकले चार वटा साना विकास बैंकलाई मर्जर गरिसकेको छ ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकले २०६९ सालमा गुल्मीको रेसुङ्गा डेभलपमेन्ट बैंकलाई मर्जर गरेपछी शाइन रेसुङ्गाको नामबाट १० जिल्ले विकास बैंकको रुपमा कारोबर सुरु गरेको थियो । २०७३ सालमा प्युठानमा एक जिल्ले कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई गाभेको बैंकले गत २०७६ असोज २७ गतेदेखि पुर्णिमा विकास बैंक र भागर्व विकास बैंकलाई एक्वायर गरेपछि राष्ट्रिय स्तरको लाइसेन्सको लागि राष्ट्र बैंकमा आवेदन दिएको थियो ।

राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकको लागि स्वीकृत दिएसँगै विहीबार (मंसिर २६ गते)देखि शाइन रेसुङगा विकास बैंकले राष्ट्रिय स्तरको कारोबार सुरु गरेको छ ।

राष्ट्रिय स्तरका विकास बैंकहरु धमाधम राजधानी सरिहँदा शाइन रेसुंगाले भने स्थापित स्थानमा नै रहेर सेवा दिइरहेको छ । हाल शाइन रेसुङगाले विभिन्न ७१ वटा शाखा कार्यलय तथा २ वटा एटीएम नेटवर्क मार्फत आधुनीक बैंकिङ सेवा प्रदान गरीरहेको छ । ४ अर्ब माथि प्राथमीक पुँजी रहेको बैंकको चुक्ता पुँजी २ अर्ब ६२ करोड रहेको छ । २ लाख भन्दा बढी ग्राहकबाट करिब २७ अर्ब निक्षेप संकलन गरेको बैंकले २४ अर्ब भन्दा बढी कर्जा लगानी गरेको छ ।

प्रकाशित मितिः     २७ मंसिर २०७६, शुक्रबार १५:२७  |