बाँकेको कोहलपुरमा संचालन गरिने महोत्सवको तयारी तिब्र पारिएको छ । महोत्सव संचालनको मिति नजिकिएसँगै विभिन्न समिति मार्फत तयारी तिब्र पारिएको महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ, कोहलपुर समितिका अध्यक्ष हेमबिक्रम जिसीले जानकारी दिए । घरेलु उत्पादनको प्रवद्र्धनकालागि आगामी पौष २४ देखि माघ ५ गतेसम्म ‘तेस्रो प्रादेशिक, ओद्योगिक, लघु, घरेलु कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार एवं पर्यटन महोत्सव-२०७६’ संचालन गर्न लागिएको जिसीले जानकारी दिए ।
जिसीले महोत्सव संचालनकालागि आवश्यक सम्पूर्ण कानुनी प्रावधानहरु पुरा गरिएको स्पष्ट पारेका छन । जिसीका अनुसार प्राविधिक रुपमा सबै प्रक्रिया पुरा भईसकेकाले महोत्सव संचालनकालागि अब भौतिक निर्माणको काम मात्र बाँकी रहेको छ । महोत्सव परिसरमा निर्माण सामग्री आईपुगेकाले केही हप्ताभित्रै निर्माण कार्यले पुर्णता पाउने जिसीले जिकिर गरे ।
महोत्वसमा बिभिन्न विधाका ३०० स्टल राखिने भएको छ । घरेलु महासंघ कोहलपुर नगर समितिका महासचिव सि।एम। उपाध्यायका अनुसार प्रदेश नं. ५ मा रहेका १२ वटा जिल्लाका उत्पादनलाई महोत्सवमा विशेष प्राथमिकता दिईएको छ । महोत्सवमा उद्योग, व्यवसायी, कृषि पर्यटन, कला संस्कृतिलाई टेवा पुग्ने गरी स्टलहरु राखिने उपाध्यायले बताए ।
राष्ट्रिय एवं अन्तराष्ट्रिय औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका लागि ९० वटा स्टलहरु छुट्याइएको छ । कृषि उपज तथा जडिबुटीका लागि ५०, लघु तथा घरेलु उद्योग र होटल रेष्टुरेण्टका लागि ३०, सूचना प्रविधि, पर्यटन र प्रायोजकहरुका लागि २०, बैंक वित्तिय तथा सहकारी संस्थाका लागि १५, मौलिक कला प्रर्दशनका लागि ५ वटा स्टलहरु राखिनेछ ।
१ लाख ५० हजार बढीले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवबाट करिब १० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको महासचिव उपाध्यायले बताए ।