नेपालगञ्जमा महोत्सवको तयारी तिव्र


नेपालगन्ज २८ मंसिर – नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११देखि २१ गतेसम्म नेपालगन्जको सडक विभाग परिसरमा आयोजना हुने महोत्सवको तयारी तिव्ररुपमा भइरहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु ः मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव २०७६” आयोजना गर्न लागिएको हो ।

महोत्सवका बिषयमा बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईसंग छलफल भएको छ । छलफलका क्रममा शहरी विकास मन्त्री राईले महोत्सव सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रको घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्य गर्न लागिएको महोत्सव सफल बनाउन लागिपरेको नगर समिति अध्यक्ष रचना श्रेष्ठले बताइन । भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना गर्न लागिएको यस महोत्सवले यस क्षेत्रको पर्यटनलाई समेत विकास गर्ने उद्देश्य राखि भ्रमण वर्ष २०२०को प्रबद्र्धनमा समेत मद्दत पुराउदै महोत्सवमा ३ सयदेखि ३५० स्टल रहने छन । यी स्टलहरु मध्ये ५० वटा घरेलु तथा साना उद्योगको प्रबद्र्धनको लागि छुट्याईएको छ ।

महिला समिति अध्यक्ष मिना सुवेदी ढकालका अनुसार, महोत्सवमा उद्योग व्यावसायको प्रवद्र्धनको लागि विभिन्न स्टलहरु, सेल्फी प्वाईन्ट, सास्कृतिक कार्यक्रम, फेसन सो, विद्यालय स्तरिय आईडललगायतका कार्यक्रम आयोजना गरिने घरेलु तथा साना उद्योग महासंघका नगर महासचिव सतिश अधिकारीले बताए । महोत्सव सम्पन्न गर्नको लागि ८० लाख खर्च हुने र करिव १ करोड आम्दानी गर्ने लक्ष रहेको छ । टिकट विक्रि, स्टल, प्रायोजक, सहप्रायोजकबाट प्राप्त हुने सहयोग नै महोत्सवको आम्दानी हो । महोत्सवमा प्रवेशको लागि ६० र विद्यार्थी सहुलियत दर ४० रुपैया तोकिएको छ । सञ्चाकर्मी, जेष्ठनागरिक, फरक क्षमता भएका व्यक्तिहरुलाई उनीहरुको परिचयपत्रले नै प्रवेशको व्यवस्ता मिलाईने छ ।

प्रकाशित मितिः     २८ मंसिर २०७६, शनिबार १५:५७  |