पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको १३औं साधारणसभा सम्पन्न


नेपालगन्ज, मंसिर २८ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेको १३औं साधारणसभा आज नेपालगन्जमा सम्पन्न भएको छ । बाँके शाखा अध्यक्ष शालिक सुवेदीको अध्यक्षता एवम् महासंघका केन्द्रिय अध्यक्ष मनहरि बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटनमा उपाध्यक्ष मन्दिरा पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सचिव प्रदिप सापकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सभामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदी र नेपालगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी विशिष्ट अतिथिका रुपमा हुनुहुन्थ्यो ।

प्रमुख अतिथि बस्यालले पुस्तक तथा स्टेशनरी व्यवसायीले झेल्नु परिरहेको नीतिगत समस्या समाधानका लागि सरकारसंग पहल गरिरहेको वताउनुभयो । व्यवसायीको हकहित संरक्षणका लागि महासंघ गम्भीर रहेको उहाँले बताउनुभयो । वस्यालले बाँके शाखाको सक्रियता र क्रियाशिलताको प्रशंसा समेत गर्नुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सुवेदीले महासंघले आफ्नो हकहितसंगै अभिभावक र विद्यार्थीहरुलाई प्रदान गर्ने सेवा सुविधाबारे पनि ख्याल गर्नुपर्नेमा जोड दिँदै पुस्तक व्यवसायीहरुसंग सहकार्यका लागि सधैं तयार रहेको बताउनुभयो । नेपालगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन्सुरीले खुला सीमानाका कारण स्टेशनरी व्यवसायी पनि मारमा परेको भन्दै भन्सारमा कडाई गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले रुपैडिहाबाट फुटकर सामान ल्याउँदा भन्सार तिर्नु नपरेका कारण नेपालगन्जका व्यापारी र व्यवसायीहरु मर्कामा परेको बताउनुभयो ।

साधारणसभाको उद्घाटन सत्रमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय सदस्य बुद्धि प्रसाद अधिकारी, हेमराज पौडेल, प्रदेश ५ का अध्यक्ष वसन्त लामिछाने, उपाध्यक्ष चन्द्रमणि पौडेल, जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड नेपालगन्जमा क्षेत्रीय प्रवन्धक रविन शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, प्याब्सन बाँकेका अध्यक्ष राजेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।साधारणसभामा व्यवसायीहरुले भोग्नुपरेका समस्या र चुनौति तथा भावी कार्ययोजनाबारे छलफल भएको अध्यक्ष सुवेदीले बताउनुभयो । संघको बाँके शाखामा हाल करिव १ सय ५० सदस्य आवद्ध छन् ।

प्रकाशित मितिः     २८ मंसिर २०७६, शनिबार १८:४१  |