यससँगै भरतपुर र रत्ननगर क्षेत्रमा तयारी मासु र त्यसबाट बन्ने परिकार बिक्री गरिने छ। “यसको प्रभाव हेरेर देशैभर सहकारीमार्फत बिक्री केन्द्र स्थापना गरिने छ” उनले भने। समितिले सहकारी दर्ता र मासु प्रशोधन केन्द्रका लागि जग्गा खोज्ने काम गरिरहेको जनाएको छ। सहकारीमार्फत खोलिने केन्द्रबाट न्यूनतम नाफा राखेर सस्तो र गुणस्तरीय मासु एवं परिकार उपभोक्तालाई दिने जनाइएको छ।
हाल कृषकले जिउँदो कुखुराको मूल्य कम पाएको भए पनि उपभोक्ताले खरीद गर्दा महँगो मूल्य तिर्न बाध्य हुनुपरेको छ। ह्याचरी उद्योगी, ब्रोइलर पाल्ने कृषक र उपभोक्ता सधैँ मर्कामा परेको एवं व्यवसाय धराशायी हुँदै गएपछि आफ्नै प्रशोधन र बिक्री केन्द्र खोल्न ह्याचरी उद्योगी र कृषक अघि बढेका हुन्।
चल्लाको लागत मूल्य पाउन नसके पछि देशैभरका ह्याचरी उद्योगले आइतबारबाट दश दिनसम्म चल्ला उत्पादन बन्द गरेका छन्। हाल चल्लाको बजार मूल्य ३० रुपैयाँ रहेको छ। यसको लागत मूल्य ५५ रुपैयाँ पर्ने व्यवसायी बताउँछन्।