काठमाडौं। स्थापनाको ५ औं वर्षमा आइपुग्दा अर्घाखाँची सिमेन्टले दैनिक क्षमता साढे ७ गुणा बढाएर ६ हजार मेट्रिक टन पुर्याएको छ । दैनिक ७०० मेट्रिक टन सिमेन्ट उत्पादनबाट उद्योग शुरू गरेको कम्पनीले हाल दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट र ३ हजार मेट्रिक टन क्लिंकर उत्पादन गर्न सक्ने सञ्चालक पशुपति मुरारकाले बताए ।
नेपालका प्रमुख व्यावसायिक घरानाहरू सिद्धार्थ ग्रूप, केडिया समूह, मुरारका समूह तथा भारतको उमा सिमेन्ट इन्टरनेशनलको संयुक्त लगानीमा २०७१ पुस १ गते उद्योग स्थापना भएको थियो । विदेशबाट क्लिंकर ल्याएर छुट्टाछुट्टै उत्पादन गरिरहेका यी ३ समूहले नेपालमै क्लिंकरसहितको उद्योग स्थापना गर्ने उद्देश्यका साथ यो उद्योग स्थापना गरेका थिए । शुरूमा अर्घाखाँचीमा चुनढुंगाको खानी रहेकोमा उक्त खानी बेचेर पछि कम्पनीले पाल्पामा आफ्नै खानी सञ्चालन गर्यो ।
हाल पाल्पामै थप दुई वैकल्पिक खानी पनि रहेको कम्पनीका प्रबन्धक उद्धवबहादुर कार्कीले बताए । उक्त खानीबाट ३० वर्ष उद्योग सञ्चालन गर्न सकिने उनी बताउँछन् । कम्पनीले श्रमिकको सट्टा अत्याधुनिक प्रविधिको प्रयोग गरी सिमेन्ट उत्पादन गरिरहेको छ । ‘कम्प्युटरबाटै सबै नियन्त्रण गरी सिमेन्ट उत्पादन गर्छौं त्यसैले पनि हाम्रो उत्पादन क्षमता बढिरहेको छ,’ कार्कीले भने । उनले १६ जना प्राविधिकद्वारा मेशिनमार्फत सिमेन्ट उत्पादनको सबै काम हुने बताए ।
शुरूमा ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्ने गरेकोमा कम्पनीले १ अर्ब रुपैयाँ लगानी थपेर डेढ वर्षदेखि पीपीसी सिमेन्ट पनि उत्पादन गरिरहेको छ । रू। २ अर्ब लगानीबाट उद्योग सञ्चालन गरिएकोमा हाल उद्योगमा करीब रू। ७ अर्ब लगानी रहेको सञ्चालक मुरारकाले बताए ।
कम्पनीले क्लिंकर अन्य सिमेन्ट उद्योगलाई समेत बेचिरहेकोमा सिमेन्टको माग भने उत्पादनभन्दा आधा कम रहेको बताएको छ । सरकारले सिमेन्टमा आत्मनिर्भर भई विदेशमा समेत सिमेन्ट निर्यात गर्ने बताइरहँदा सरकारकै कारण सिमेन्ट विदेश निर्यात गर्न असहज भएको कम्पनीको आरोप छ ।
सिमेन्टको उत्पादन र लागतमा विद्युत्, कर, खानी र जग्गा आदि मूख्य कारण भएको सञ्चालक मुरारकाले बताए । ‘भारतमा बिजुली निर्यात गर्ने दरमै हामीलाई बिजुली देऊ भन्दा सरकारले हामीलाई दिएको छैन यसले उद्योगलाई प्रोत्साहन गर्दैन,’ उनले भने ।
यस्तै विभिन्न लोकल करको नाममा व्यवसायीलाई दुःख दिने चलन बढेको आरोप उनको छ । कानूनी रूपमा खानी उत्खनन्का लागि ५ हेक्टर मात्र जमीन खन्न पाउने व्यवस्था छ । तर खानी उत्खनन्का लागि कम्तीमा २५ हेक्टर जमीन खन्नुपर्ने उनी बताउँछन् ।