बैंकिङ क्षेत्रमा कर्मचारी टिकाउन कठिन


राम्रो सेवा सुविधा पाइने आशामा अहिलेका युवा पुस्ताहरु बैंकमा जागीर गर्न आकर्षित भएका छन् । ठूलो संख्यामा युवाहरु मेनेजमेन्ट पढिरहेका छन् । मेनेजमेन्ट पढ्ने प्रायःको लक्ष्य बैंकमा जागीर गर्ने रहेको पाइन्छ । चट्ट टाइ सुटमा सजिएर हिँडेको देखिने, पैसाको कारोबार गर्ने जस्ता कुराहरुले यो पेशाप्रति आकर्षित गराउँछ । तर, बैंकमा प्रवेश गरिसकेपछि कर्मचारीहरु एकै संस्थामा नटिक्ने गरेको पाइएको छ ।

थप सेवा सुविधाको खोजीमा कर्मचारीहरु एक बैंकबाट अर्को बैंक चाहारिरहेका कारण बैंकहरुलाई कर्मचारी टिकाउन नै मुस्किल परेको छ । बैंकहरुले कुनै पनि कर्मचारीलाई जिरो लेभलबाट सिकाएर अनुभवी र सक्षम बनाएको हुन्छ । यसरी सक्षम भएपछि उक्त कर्मचारी थप सेवा मागेर अर्को बैंक्मा जाने गरेको पाइन्छ । यससी अनुभवी व्यक्तिले काम गर्न इच्छा देखाएपछि अर्को बैंकले पनि सजिलै थप सेवासुविधामा उसलाइैृ नियुक्त गर्ने हुन्छ ।

प्रायः व्यवस्थापकीय तहका कर्मचारीहरु नै यसरी बैंक छोडेर हिँड्दा बैंकलाई समस्या पर्छ । सुरुदेखि नै आफैँले सिकाएर सक्षम बनाएको व्यक्तिले दीगो भएर काम गरोस भन्ने अपेक्षा हरेक संस्थाको हुन्छ । तर, बैंक तथा वित्तीय संस्थाहरुबीचमा रहेको प्रतिष्पर्धाका कारण कर्मचारीहरु बैंक चाहार्दै हिँड्न थालेका छन् ।

अहिले मर्जरका कारण आफ्नो रोजगारी जोगाउनका लागि पनि कर्मचारीहरु राम्रो सेवा सुविधा भएको र ठूलो बैंकमा जान चाहन्छन् । उनीहरु राम्रो सेवा सुविधाको खोजीमा भइरहँदा उक्त बैंकले पनि अनुभवी कर्मचारीको लागि दरखास्त आह्वान गर्दछ । यसरी, बैंक तथा वित्तीय संस्थामा रहेका अनुभवी कर्मचारीहरु एक बैंकदेखि अर्को बैंक सर्ने गरेका छन् ।

एउटा बैंकमा सहायक मेनेजरको रुपमा काम गरेको कर्मचारीले अर्को बैंकमा सीधै मेनेजरका लागि आवेदन दिन्छ र छनौट हुन्छ । यसो गर्दा, उसको प्रोमोसन छिटो हुन जान्छ । कार्यरत संस्थामा बढुवा हुने समय कुर्नुभन्दा छिटै माथिल्लो तहमा पुगिने र सेवा सुविधा बढ्ने मोहका कारण कर्मचारीहरुमा बैंक चाहार्ने प्रवृत्ति देखिएको छ ।

त्यस्तै, लघुवित्तमा काम गरिरहेकाहरु वित्त कम्पनीमा, वित्त कम्पनीबाट विकास बैंक र विकास बैंकबाट वाणिज्य बैंकमा सर्ने प्रवृत्ति पनि रहेको पाइन्छ । सानै पदमा भएपनि ठूलो संस्थामा काम गर्ने रहर कतिपयलाई हुन्छ ।

सुविधाप्रति कर्मचारीको यस किसिमको मोहका कारण बैंकहरुलाई कर्मचारी जोगाउनै कठिन हुन थालेको छ । कर्मचारी अन्य संस्थामा नजाओस् भनेर नियमविपरीत सेवा सुविधा बढाउन पनि नमिल्ने हुन्छ । यसरी आफ्नो कर्मचारी अर्को संस्थामा गएपछि उसले पनि अर्को संस्थाको कर्मचारी तान्न खोज्छ । यसरी प्रतिष्पर्धा बढ्दै जाँदा बैंकिङ क्षेत्रमा थप सक्षम कर्मचारी उत्पादनमा कमी आउने देखिन्छ ।

प्रकाशित मितिः     ६ पुष २०७६, आईतवार १४:२२  |