क्षमता विस्तारका लागि कर्जा थप्दै लक्ष्मी स्टिल


काठमाडौं। लक्ष्मी स्टिलले आफ्नो क्षमता विस्तार गर्न २० करोड रूपैयाँ कर्जा थप्ने भएको छ। यससँगै कम्पनीले पुरानो कर्जाको साँवा ब्याज भुक्तानी गर्न थप एक अर्ब ७८ करोड रूपैंयाँको ऋणका लागि रेटिङ गराएको छ।

पछिल्लो समय छड र सिमेन्टको बिक्रीमा आएको मन्दीले व्यवसायी समस्यामा छन्। बिक्री नहुँदा अर्बौ रूपैंयाँका सामान कम्पनीका गोदाममा स्टक बसेको छ। यसले गर्दा उद्योगहरू ऋणको ब्याज तथा किस्ता भुक्तानी गर्न नसक्ने अवस्थामा छन्। छड र सिमेन्ट उदयोगको नगद कारोबार निकै घटेको छ ।

लक्ष्मीले लिने भनिएको एक अर्ब ७८ करोड रूपैंयाँमध्ये अधिकांश पैसा ब्याज तिर्न प्रयोग हुनेछ। पुरानै चार अर्ब ६८ करोड कर्जा भएको कम्पनीले थप एक अर्ब ९८ करोडसहित जम्मा ६ अर्ब ६७ करोड रूपैंयाँको ऋणको रेटिङ गराएको छ।

कम्पनीले ३९ करोड ९० लाख रूपैंयाँको दीर्घकालीन ऋण र ६ अर्ब २७ करोड रूपैंयाँको अल्पकालीन ऋणको लागि रेटिङ गराएको हो।

प्रकाशित मितिः     १२ पुष २०७६, शनिबार ०९:४६  |