कर्णाली प्रदेश : गन्तव्य पहिचानदेखि पर्यटकलाई सम्मानसम्म


  • मुना हमाल/सुर्खेत

प्रदेश सरकारले अन्तर्राष्ट्रिय र राष्ट्रिय महत्वका पर्यटकीय गन्तव्य पहिचान गरेर तिनको प्रर्वद्धन र प्रचारप्रसार गरिरहेको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले ४० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको पहिचान गरेको छ ।

प्रदेश सरकारले पहिचान गरेका पर्यटकीय स्थलमा सुर्खेतको काँक्रेबिहार र बुलबुले ताल, पञ्चपुरी सर्किट र विद्यापुर, सल्यानको कुपिण्डेदह, छायाँ क्षेत्र र खैराबाङ मन्दिर, मुगुको चंखेलीहिमाल, रिडीमच्छे पर्यटकीय क्षेत्र र छायाँनाथ कोइकी हिमाल, तिहार गुम्बा, बगर पर्यटकीय क्षेत्र रहेका छन् ।

यस्तै जुम्लाको जन्दनाथ–गुठीचौर–पातारासी सर्किट र सिंजा उपत्यका र कालिकोटको पचाल झरना, डोल्पाको शेफोक्सुण्डो र शेगुम्बा– बिजेर–साल्दाङ–तिन्जे– धोतराप–छार्का सर्किट, हुम्लाको लिमिभ्याली र रलिङ–बारदेवभ्यू डुडल–खार्पुनाथ –सिमकोट सर्किट, मुगुको रारा ताल र छायाँनाथ, चुलिमालिका कोट दरबार, पंच दरबार सर्किट, पिली र मान्म रहेका छन् ।

यस्तै दैलेखको राकम कर्णाली र पञ्चकोशी सर्किट, पश्चिम रुकुमको सिस्ने हिमाल, स्याफ्रु ताल, मुसिकोट दरबार र डिग्रे मन्दिर, जाजरकोटको भेरी नदी, नदैगढ, कुशे, ठाकुरजीको गाठ सर्किटलाई पर्यटकीय गन्तव्यको रुपमा प्रदेश सरकारले पहिचान गरेको छ ।

भ्रमण वर्षको शुभारम्भ बुलबुलेबाट
कर्णाली प्रदेश सरकारले नेपाल भ्रमर्ण वर्ष २०२० लाई सुर्खेतमा रहेको पर्यटकीय क्षेत्र बुलबुले तालबाट सुरु गर्ने तयारी गरेको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा। कृष्ण आचार्यले बुलबुलेबाट पर्यटन वर्षको शुभारम्भ गरिने तयारी गरेको बताउनुभयो । उहाँले पर्यटन वर्षलाई सफल बनाउन सबै पालिकासँग समन्वय गरेर काम गर्ने पनि बताउनुभयो ।

उद्घाटन कार्यक्रममा प्रदेशका प्रमुुख प्राकृतिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय सम्पदाहरुको फोटो, ब्यानर तथा पोष्टरहरुको प्रचारप्रसार गरिने तथा प्रदेशको संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति गरिने मन्त्रालयले जानकारी दिएको छ । साथै कर्णाली प्रदेशको छुट्टै पहिचान हुने गरी तयार गरेको लोगो सार्वजनिक गर्ने तयारी छ । भ्रमण वर्षको पहिलो दिन कर्णालीमा आउने पर्यटकहरुलाई विमानस्थल र नाकाहरुमा सम्मान पनि गरिनेछ ।

पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य

कर्णाली प्रदेशले भ्रमण वर्ष २०२० मा कर्णालीमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । १ लाख विदेशी पर्यटक र चार लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव आचार्यले जानकारी दिनुभयो ।

उहाँले प्रदेशमा पर्यटकहरुलाई आकर्षित गर्न पर्यटकीय गन्त्व्यका पहिचान, प्रचारप्रसार गर्ने र निजी पर्यटन व्यवसायीसँग साझेदारी गरेर प्याकेजसहितको कार्यक्रम ल्याउने तयारी थालिएको बताउनुभयो ।

कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यहरु
रारा ताल
कर्णाली प्रदेशको प्रमुुख पर्यटकीय क्षेत्र मध्य एक हो राराताल । मुगु जिल्लामा रहेको रारा ताल समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको छ ।

१०।८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको लम्बाइ ५ किलोमिटर र चौडाईइ ३ दमशलव २ किलोमिटर छ भने गहिराइ १ सय ६७ मिटर रहेको छ ।

रारा ताल पुग्नका लागि सुर्खेतबाट सडक र हवाइ तथा नेपालगञ्जबाट हवाइ यात्रा पनि गर्न सकिन्छ । विश्वमा कतै नपाईने उच्च स्थानको असाला माछा रारा तालमा रहेको छ ।

शे फोक्सुण्डो ताल
कर्णाली प्रदेशको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य हो शे फोक्सुण्डो ताल । डोेल्पा जिल्लामा रहेको यो ताल शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र नै छ । शे फोक्सुण्डो ताल समुद्री सतहदेखि ३ हजार ९ सय मिटरको उचाइमा रहेको छ । यो नेपालको सबैभन्दा गहिरो तालका रुपमा समेत प्रसिद्ध छ ।

शे फोक्सुण्डो तालको लम्बाइ ४।८ किलोमिटर, चौडाइ १।६ किलोमिटर र गहिराइ ६ सय ५० मिटर छ । नेपालगञ्ज, सुर्खेतदेखि हवाई यात्रामा जुफालसम्म गएपछि त्यहाँबाट डेढ घण्टा गाडी चढेर सदरमुकाम दुनै पुगिन्छ । दुनैबाट पैदलयात्रा मार्फत शे फोक्सुण्डो पुग्न सकिन्छ । ताल वरपर गुम्बा र बस्ती रहेका छन् ।

काँक्रेबिहार
दोस्रो लुम्बिनीका रुपमा परिचित ऐतिहासिक पर्यटकीयस्थल काँक्रेविहार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पर्दछ । वीरेन्द्रनगर बजारको मंगलगढी चोकबाट करिब साढे तीन किलोमिटर दक्षिणतर्फ गएपछि काँक्रेविहार पुग्न सकिन्छ । धार्मिक किम्वदन्तीअनुसार काँक्रेविहारमा पाँच पाण्डवहरुले बसोबास गरेको मानिन्छ ।

काँक्रेविहारलाई हिन्दू, बौद्ध धर्मावलम्बीको सामुहिक केन्द्रको रुपमा लिने गरिन्छ । पुरातत्व विभागले १४ वर्षअघि २०५७ सालमा उत्खनन् गरी भग्नावशेषका मूर्तिहरु निकालेर पुनर्निर्माणको काम सकाएको छ ।

दैलेखको ज्वाला
दैलेख जिल्ला धार्मिक रुपले धनी जिल्ला हो । दैलेखको सदरमुकाम पश्चिमतर्फ भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिका सीमानामा श्रीस्थान र दुल्लु र भैरवीको नाभिस्थान पर्दछ । पानीमा बल्ने ज्वाला भएकाले यसलाई धार्मिक पर्यटक स्थलको रुपमा चिनिन्छ ।

सुर्खेतको वीरेन्द्रनगरबाट बसको यात्रामा करिब ३ घण्टामा सदरमुकाम पुगिन्छ । र त्यहाँको करिब ४५ मिनेटको गाडीको यात्रापछि नाभिस्थान र श्रीस्थान पुगिन्छ । अहिले त्यहाँ सरकारले ग्यास निकाल्नको लागि उत्खनन्को काम अघि बढाएको छ ।

सिँजा उपत्यका
पर्यटकका लागि घुम्नलायक क्षेत्र मध्य जुम्लाको सिँजा प्रमुख मानिन्छ । ऐतिहासिक सिँजा उपत्यका नेपालीभाषाको उद्गमस्थलका साथै तत्कालीन राजा नागराजले स्थापना गरेको विशाल सिँजा साम्राज्यको राजधानी पनि हो । सिँजामा प्रायः इतिहासकारहरु, अनुसन्धानकर्ताहरु, विद्धानहरु र प्रशासकहरुदेखि दलका नेताहरुकोसमेत आगमन हुने गर्दछ ।

विशेषगरी धेरैजसो नेपालका जातिहरुको मूलथलो भएकाले आफ्नो जन्मभूमि खोज्दै सिँजामा आउने बढी नै देखिन्छन् । सिँजा कर्णालीको राजधानी वीरेन्द्रनगरबाट स्थलमार्गबाट एक दिनमा सजिलै पुगिन्छ । सुुर्खेत विमानस्थलबाट र नेपालगञ्त्र विमानस्थलबाट पनि जान सकिन्छ ।

कुपिण्डे दह
प्राकृतिक रुपले सुन्दर कुपिण्डे दह सल्यानमा पर्छ । त्यहाँ पुुग्नका लागि सुर्खेबाट तीन घण्टा लाग्छ । बराहमन्दिरसमेत रहेको कुपिण्डेदहको लम्बाई १२ सय २६ मिटर लम्वाइ, २ सय ५० मिटर गहिराइ, परिधि २ हजार ८ सय र क्षेत्रफल ३० हेक्टर रहेको छ ।

बुुलबुले ताल
वीरेन्द्रनगरमै रत्न राजमार्गको छेउमै बुलबुले तालको मुख्य गेट छ । जमिनबाट पानी बुलबुल गर्दै आउने भएर यसकोे नाम बुुलबुले ताल राखिएको हो । यसबाहेक सुुर्खेतमा घण्टाघर, देउतीबज्यै मन्दिर, चमेरो गुुफा पनि प्रमुुख पर्यटकीय स्थलको रुपमा छन् ।

पचाल झरना
पचाल झरना कालिकोटमा पर्दछ । नेपालकै ठूलो झरना भनिएको पचाल झरनाको उचाइ ३ सय ८१ मिटर रहेको बताइन्छ । प्रदेश सरकारले यसलाई प्रमुुख पर्यटकीय गन्त्व्यका रुपमा तोकेको छ ।

यस्तै ऐतिहासिक महत्व बोकेको जाजरकोट दरबार जाजरकोट जिल्लामा रहेको छ । बाइसे र चौबीसे राज्यको इतिहास बोकेको जाजरकोट दरबार एउटा पर्यटकीय स्थलको मुख्य गन्तव्य पनि हो ।

यस्तै स्यार्पु ताल रुकुम पश्चिमजिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटदेखि करिब २ घण्टाको पैदल यात्रा पछि पुगिन्छ । यस्तै मुगुको चंखेली हिमाल पनि कर्णाली प्रदेशको एउटा पर्यटकीय गन्तव्य हो । रारा तालबाट मनोरम दृश्य देखिने यो हिमाल लगभग बाह्रै महिना चढ्न सकिन्छ । उज्यालो अनलाइनबाट

प्रकाशित मितिः     १६ पुष २०७६, बुधबार ०८:०९  |