- हेमन्त केसी
जाजरकोट। कर्णाली प्रदेशका ४० वडालाई जडीबुटी जोनका रुपमा घोषण हुने भएका छन् । वन तथा वातावरण मन्त्रालयले जडीबुटी उत्पादन हुने ठाउँको अवस्थाका आधारमा खेती व्यवसायिक खेती गर्ने लक्ष्यका साथ उक्त जोन क्षेत्रका रुपमा घोषणा गर्न लागिएको मन्त्रालयका उपसचिव गणेशविक्रम शाहीले जानकारी दिए ।
उनका अनुसार कर्णाली प्रदेश जडीबुटीको भण्डार भएकाले उपलब्ध हुने जडीबुटीको थप विकासका लागि पहिलो चरणमा ४० वटा वडालाई जडीबुटी जोनका रुपमा घोषणा गर्न लागिएको हो । ‘अहिले जथाभावी सङ्कलन भएको तर संरक्षणमा ध्यान नदिइएको अवस्था छ ।’ उपसचिव शाहीले भने, ‘वडालाई जोन घोषणा गरेपछि जडीबुटीको संरक्षण र व्यवस्थापनमा ठूलो योजना तयार पारिने छ ।’
तीन जिल्ला संरक्षित क्षेत्र मन्त्रालयले कर्णालीका जाजरकोट, जुम्ला र डेल्पामा संरक्षित क्षेत्रका रुपमा घोषणा गर्ने भएको छ ।
मन्त्रालयले जाजरकोटको बारेकोट, कुशे गाउँपालिका र नलगाड नगरपालिकालाई संरक्षित क्षेत्र घोषणा गरी त्यहाँका वन्यजन्तु संरक्षणका साथै स्थानीयवासीको पशुपालन व्यवसायलाई व्यवस्थित बनाउन कार्ययोजनाको अध्ययन पूरा गरेको मन्त्रालयका उपसचिव गणेशविक्रम शाहीले जानकारी दिए ।
उनका अनुसार मन्त्रालयले जाजरकोट जिल्लासँग सिमाना जोडिएका जुम्ला र डोल्पा जिल्लाका क्षेत्रलाई समेत संरक्षित क्षेत्र घोषणाको तयारी गरिएको हो ।
डोल्पा मुड्केचुला गाउँपालिका क्षेत्र र जुम्लाको आधा भागलाई जोडेर संरक्षित क्षेत्र बनाउने कामका लागि मन्त्रालयले अध्ययन गर्ने काम पूरा गरेको छ । शाहीले भने, ‘अहिले उक्त अध्ययन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा छलफलका लागि तयारी अवस्थामा राखिएको छ ।’
जडीबुटी भण्डार र प्रशोधन केन्द्र स्थापना हुने
जाजरकोटमा जडीबुटी भण्डार तथा प्रशोधन केन्द्र स्थापना गर्ने काम शुरु भएको छ । डिभिजन वन कार्यालय, जाजरकोटले जिल्लाका सातवटै स्थानीय तहमा यस्तो काम शुरु गरेको हो ।
जडीबुटीको भण्डार मानिएको जाजरकोटमा पहिलो पटक जडीबुटी भण्डार तथा प्रशोधन केन्द्र स्थापना र जडीबुटी सम्बन्धी उद्यम स्थापना गर्न लागिएको डिभिजन कार्यालय प्रमुख महेश कुमाईले बताए । उनले भने, ‘जिल्लाका सातै स्थानीय तहमा उत्पादन, प्रशोधन र बजारीकरणका हिसाबले उपयुक्त खालको स्थानमा कार्यक्रम शुरु गर्ने ध्येयले बोलपत्र आह्वान गरिएको छ ।’
संघीय र कर्णाली प्रदेश सरकारको अनुदान सहयोगमा सहरकारीमार्फत् जडीबुटी खेती, भण्डारण, बजारीकरण गर्ने नीति अनुसार उक्त काम अघि बढाएको हो । स्थानीय जडीबुटीको खेती तथा विस्तार भण्डारण समेत गर्न लागेको कुमाईले जानकारी दिए । जडीबुटीको राम्रो सम्भावना भएको स्थानलाई पकेट क्षेत्रमा रुपमा जडिबुटी खेती विस्तार गर्न लागिएको उनको भनाइ छ । #कर्णालीपत्र#