व्यवसायीका मुद्दा ‘टिपोट’ गर्दै समावेशी प्यानलका उम्मेदवार, घोषणापत्रमा समेट्ने


नेपालगञ्ज २४ पुस – नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलले घरदैलोका क्रममा उद्योगी, व्यवसायीका मुद्दाका बारेमा सुझाव संकलन गरेको छ । यसरी संकलन भएको सुझावलाई समावेशी प्यानलले आफ्नो घोषणापत्रमा समेट्ने तयारी गरेको हो ।

‘उद्योगी, व्यवसायीका समस्याका बिषयमा हामी कुनै न कुनै रुपमा भुक्तभोगी छौं । त्यस्ता समस्या समाधानका लागि काम पनि गरेका छौं ।’ अध्यक्ष पदका उम्मेदवार चुन्नाले भने–‘ फेरी पनि व्यवसायी साथीहरुसंग सुझाव संकलन गरिरहेका छौं ।’

उपाध्यक्ष पदका उम्मेदवारद्धय ज्ञानेन्द्र कुमार श्रेष्ठ र आदेश अग्रवालले पहिलो पटक उद्योगी, व्यवसायीले अपनत्व महसुस गर्ने गरी घोषणापत्र ल्याउन लागिएको बताएका छन् । ‘यसपटकको घोषणापत्रमा हामी सबै उद्योगी, व्यवसायीले अपनत्व महसुस हुने मुद्दा समेट्छौ ।’– श्रेष्ठ र अग्रवालले भने । उक्त प्यानलबाट अध्यक्षमा चुन्ना, उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार रहेका छन् ।

सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन् । समावेशी प्यानलले केही दिनमै घोषणापत्र सार्वजनिक गर्दै छ ।

प्रकाशित मितिः     २४ पुष २०७६, बिहीबार ०६:३८  |