चिठ्ठामा कैलालीकी महिलाको १० लाख ठगी


धनगढी। चिठ्ठा परेको भन्दै कैलालीकी एक महिलाको १० लाख ४ हजार ठगी गरेको आरोपमा प्रहरीले मोरङका बिभिन्न स्थानबाट मनि ट्रान्सफर सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ ।

घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिट्ठा परेको भनेर ठगी गरेको अभियोगमा दुइ भारतीय र पाँच नेपालीलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोरङको सुन्दर हरैचाका आइएमइ मनि ट्रान्सफर सञ्चालक इन्दिरा पुरी, मनमोहनबहादुर अधिकारी, विराटनगरको सजिलो मनीट्रान्सफर सञ्चालक विश्वनाथ राजवंशी, रंगेलीका भवेशकुमार मण्डल, अब्दुल सलाम, भारतको बिहार अररियाका जिल्लाका शतिष मण्डल र मोइसु छन् ।

धामीको उजुरीका आधारमा मोरङ प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

दिल्लीमा चोरी भएको ६५ लाख कैलालीबाट बरामद
यसैबीच भारतको दिल्लीस्थित देवनगरका विश्वेश्वर अग्रवालको कार्यालयबाट नगद तथा गरगहना चोरी गर्नमा संलग्न भनिएकालाई कैलालीको गौरीगंगा नगर क्षेत्रबाट ६५ लाख भारूसहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा चोरीमा संलग्न रहेको भनिएका बाजुराको बुढिगंगाका जहरसिंह थापा र मनाकुमारी खड्का, चोरीको रकम लुकाउने कैलाली गौरीगंगाकी बिन्दाकुमारी थापा रावल छन् ।

भारतीय राजदूतावासको प्राप्त पत्रअनुसार खटिएको कैलाली प्रहरीको विशेष टोलीले गरेको अनुसन्धानका क्रममा बिन्दाको घरभित्र खाल्टो मुनी लुकाइ राखिएको अवस्थामा उक्त रकम बरामद गरेको प्रहरी प्रवक्ता बस्नेतले बताए ।

प्रकाशित मितिः     १ माघ २०७६, बुधबार १३:५४  |