- अब्दुल वाहिद मन्सुरी
अध्यक्ष पदका उम्मेदवार
नेपालगन्ज उद्योग वाणिज्य संघ
यतिबेला हामी बाँकेका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको पूर्व संघारमा उभिएका छौं । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा सारथी बनेका उद्योगी, व्यवसायीहरुको आस्थाको केन्द्र नेपालगन्ज उद्योगी वाणिज्य संघ अहिले देशकै नमूना उद्योग वाणिज्य संघका रुपमा स्थापित छ । वर्षौदेखि यस संघले व्यवसायीक हित र सामाजिक आन्दोलनको अगुवाई गर्दै आएको कुरा सर्वविदितै छ । उद्योगी, व्यवसायीको हकहित मात्र होइन सामाजिक परिवर्तनका मुद्दामा समेत हामी निरन्तर सक्रिय छौं । राज्यको पुर्नसंरचनासंगै बनेका स्थानीय, प्रदेश र केन्द्रीय तहसम्मका नीति निर्माताहरुलाई व्यवसायीक र बाँकेबासीको हितमा सदैव झक्झक्याउने काम गर्दै आएका छौं ।
बर्तमान अवस्थामा नेपालमै उदाहरणीय बन्न सकेको नेपालगन्ज उद्योग वाणिज्य संघको गौरवपूर्ण इतिहास बनाउन महत्वपूर्ण भूमिका खेल्ने हाम्रा अग्रज संस्थापक अध्यक्ष ओमकारमल खेतान, संस्थापक एवं पूर्व अध्यक्ष ज्यूहरु लगायत सम्पूर्ण अग्रजहरुलाई यस अवसरमा हामी सम्मान प्रकट गर्न चाहान्छौ । उहाँहरुकै अथक प्रयास र योगदानका कारण आज संघ यो अवस्थामा आईपुग्न सफल भएको हो । व्यापार संघ हुँदै वाणिज्य संघ बन्दासम्म नेतृत्वदायी भूमिकामा रहने पदाधिकारी एवं सहकर्मी उद्योगी, व्यवसायीहरु हाम्रा प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँहरुलाई हामी सदैव सम्झिरहन्छौ भने आगामी दिनमा उहाँहरुको भावना अनुसार अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं । त्यसैगरी नेपालगन्ज लगायत देश कै व्यवसायीक एकता एवं हामीले गर्दै आएको सामाजिक आन्दोलनलाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा साथ दिनु हुने राजनीतिक पार्टीहरु, नागरिक समाजका अगुवा, सन्चारकर्मी मित्रहरु र संघमा आवद्ध भई धैर्यताका साथ संघको नेतृत्वको भूमिकालाई नियाल्नु भएका संघका सदस्यज्यूहरु र समग्र बाँकेबासी प्रति हामी सदैव आभारी छौं ।
नेपालगन्ज साविकको मध्य र सुदूरपश्चिमको आर्थिक राजधानी हो भन्दा अत्यूक्ति नहोला ! यस ऐतिहासिक शहरमा रहेको यस संघको व्यवसायीक हीत र सामाजिक आन्दोलनको भूमिका दिन प्रतिदिन फराकिलो बन्दै छ । बिभिन्न आन्दोलन पश्चात देशमा नयाँ संविधान जारी भई तीन तहका सरकार बनेर राज्य पुर्नसंरचनामा आमूल परिवर्तन भएको अवस्था छ । यसले देशमा बेग्लै उत्साह थपेको छ, तर बद्लिएको परिस्थितीले नेपालगन्जलाई सन्तुष्ट पार्न सकिरहेको छैन । राज्य पुर्नसंरचनाले बाँकेलाई पछि धकेली रहेको यस परिस्थिति प्रति आज हाम्रो चिन्ता र चासो बढेको छ ।
हामीले यो ऐतिहासिक शहरको चमक कम हुन नदिन र त्यसका लागि संघका माध्यमबाट निरन्तर राज्यलाई सचेत गराउने जिम्मेवारी बोध गर्दै सम्पूर्ण उद्योगी, व्यवसायी र बाँकेबासी दाजुभाइको सुन्दर भविष्य निर्माणको संकल्प लिदै अगाडि बढ्ने बेला आएको छ । माघ ११ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा भइरहेका घरदैलो कार्यक्रममा हाम्रा उम्मेद्वारहरु तपाईहरु सामु यो कुराको यथार्थवोध गराउँदै आएको कुराको समेत जानकारी गराउँदछौं । देशमा राजनीतिक स्थिरता आएता पनि उद्योग, व्यवसाय क्षेत्रका धेरै मुद्दाहरु सम्बोधन हुन सकेका छैनन् । उद्योगी, व्यवसायीका थुप्रै समस्या सतहमा देखिएका छन् । लगानीमैत्री वातावरणका लागि कानुनी झण्झट झेल्नु परिरहेको अवस्था छ । व्यवसायीलाई बिभिन्न बाहनामा राज्यका निकायबाट दुःख दिने काम भइरहेको छ । बैंकको अस्थिर ब्याजदरले उद्योगी, व्यवसायीको उठिबास भएको छ । त्यसको प्रत्यक्ष प्रभाव रोजगारीमा परेको छ भने हजारौ युवाहरु कामको खोजिमा बिदेश भौतारि रहनुपरेको छ ।
खुल्ला सिमाका कारण नेपालगन्जको व्यवसाय धरमर भइरहेको अवस्था छ । यो हाम्रा लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा देखा परेको छ भने अर्कोतर्फ सरकारले ल्याएका नयाँ कर प्रणालीहरु अव्यवहारिक र झञ्झटिलो बन्दा उद्योगी, व्यवसायी मर्कामा परेका छन् । यस्तो परिस्थितीमा सिङ्गो बाँके र यहाँका उद्योगी, व्यवसायीले संघमा बलियो नेतृत्व खोजिरहेका छन् । यसै सन्र्दभमा समावेशी समूहको तर्फबाट प्रस्तुत गरिएका हाम्रा अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी (चुन्ना)संघको कार्यसमितिमा चार कार्यकाल रही दुई कार्यकाल उपाध्यक्षको समेत अनुभव सङ्गालेका प्रतिष्ठित, उर्जावान , जुझारु युवा व्यवसायी हुनुहुन्छ । चुन्ना बिशुद्ध व्यवसायीक क्षेत्रबाट उदय हुनुभएका सफल व्यवसायी हुनुहुन्छ ।
त्यस्तै गरी वाणिज्य तर्फको उपाध्यक्षमा संघको विकास निर्माणमा २०५३ सालदेखि ऐतिहासिक भूमिका निर्वाह गरी सफल कोषाध्यक्षका रुपमा आफ्नो परिचय दिन सफल प्रतिष्ठित समाजसेवी व्यक्तित्व ज्ञानेन्द्र कुमार श्रेष्ठलाई अगाडी सारेका छौं साथै उदयमान युवा उद्योगपति जसले संघको कार्यसमितिमा तीन कार्यकाल अनुभव हासिल गरिसक्नुभएका आदेश कुमार अग्रवाललाई अगाडी सारेका छौं । उहाँहरुको यो उम्मेदवारीले नेपालगन्ज शहरको बिशेषता, विविधताको पनि बलियो प्रतिनिधित्व गरेको छ । यति मात्र होइन हामीले व्यवसायीक र औद्योगिक क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याएर चर्चामा आईसक्नुभएका होनहार व्यक्तित्वका रुपमा स्थापित जुझारु उद्यमी व्यवसायीहरुलाई सदस्य पदको उम्मेदवारका रुपमा अगाडी सारेका छौं । उद्योगी, व्यवसायीको स्नेहले यहाँसम्म आएको छु । मलाई फेरी पनि एकपटक साथ दिनुहोस् । मत खेर जान नदिने वाचा गरेको छु ।