एनसेलले ल्यायो ‘टुरिष्ट सिम’


काठमाडौं। एनसेलले नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गर्दै ‘टुरिष्ट सिम’ बिक्री सुरू गरेको छ। भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै कम्पनीले यो सिम ल्याएको हो।

पर्यटकले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाइम र डेटा बण्डलिङ गरिएको प्याकहरू लिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पर्यटकले करसहित सय रूपैयाँमा सिमसहित स्टार्टर प्याक लिन सक्नेछन्। उक्त प्याकमा पर्यटकले ३० रूपैयाँ मेन ब्यालेन्स र तीन दिन समयावधि भएको एक जीबी डेटा पाउने कम्पनीले जनाएको छ।

पर्यटकले आफ्नो नेपालको बसाइँ र सेवाको आवश्यकताअनुसार नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीनदेखि ३० दिनसम्म समयसीमा रहेका विभिन्न पाँच कम्बो प्याकमध्ये कुनै एक प्याक लिनसक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कम्बो प्याकहरूमा तीनदिने प्याकको करसहित २ सय ९० रूपैयाँ पर्छ।

यो प्याकमा ३० मिनेट अल नेटवर्क भ्वाइस र ३ जीबी डेटा भोल्युम हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाइस रहेको ७ दिने प्याकको करसहित ४ सय ९० रूपैयाँ तोकिएको छ। करसहित ९ सय ८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जीबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाइस बण्डल गरिएको प्याक लिनसक्ने छन्।

लामो समय नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक ३० दिने कम्बो प्याक लिन सक्ने छन्। कम्पनीका अनुसार २८ दिने प्याक अन्तर्गत पर्यटकले करसहित १ हजार ४ सय ७० रूपैयाँमा २८ जीबी डेटा र २८० मिनेट अल नेटवर्क भ्वाइस पाउँछन्।

त्यसैगरी ३० दिने प्याकअन्तर्गत करसहित २ हजार ८ सय ८८ रूपैयाँमा ८८ जीबी डेटा र ८८८ मिनेट अल नेटवर्क भ्वाइस सेवा पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो सिम लिएपछि कम्बो प्याकका लागि एस्ट्रिक्स १७१०५ ह्यास डायल गरि सेवा सञ्चालन गर्न सकिन्छ।

यो सिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेलको काउन्टर र देशका विभिन्न स्थानमा रहेका ९० वटा पोइन्ट अफ सेल्सहरूबाट लिन सक्ने कम्पनीले जनाएको छ। सिम लिन पर्यटकले आफ्नो पासपोर्ट साइज एउटा फोटो र राहदानीको फोटोकपि बुझाउनु पर्ने कम्पनीले जनाएको छ।

प्रकाशित मितिः     ८ माघ २०७६, बुधबार १५:०३  |