चिसो बढ्नाले सल्यानमा गत वर्षभन्दा सात मेट्रिकटन कम मह उत्पादन


सल्यान, २० माघ । सल्यानमा यस वर्ष सात मेट्रिकटन मह कम उत्पादन भएको छ ।

गत वर्ष १९ मेट्रिकटन मह उत्पादन भएकोमा यस वर्ष झन्डै १२ मेट्रिकटन मात्रै मह उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

गत वर्ष जिल्लामा १ करोड ५० लाख रुपैयाँभन्दा बढीको मह उत्पादन भएको थियो ।

मह उत्पादन घटेपछि राम्रो प्रतिफल नपाएको भन्दै किसानहरू चिन्तित बनेका छन्। जिल्लाको कालीमाटी गाउँपालिका साथै अन्य गाउँपालिकाका किसानले व्यवसायिक मौरीपालन गर्दै आएका छन् ।

तर मह उत्पादन कम भएपछी किसानको आम्दानी पनि घटेको छ ।

कालीमाटी गाउँपालिका वडा नम्बर २ झिँगानेका लोकेन्द्र वलीले गत वर्ष करीब १४ क्विन्टल मह उत्पादन गरेका थिए ।

तर यस वर्ष भने झन्डै तीन क्विन्टल मात्रै मह उत्पादन भएको छ ।

गत वर्ष करीब १० लाख रुपैयाँ आम्दानी गरेका उनी यस वर्ष मौरीको मह उत्पादन कम भएपछि आम्दानी घटेको बताए ।

मौरीले मह लगाउने समयमा चिसो ह्वात्तै बढेको र पानी पनि परेकाले मह उत्पादन कम भएको किसानको भनाइ छ ।

जिल्लामा करीब १ हजार ५ सय ३० भन्दा बढी मौरीका घार रहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए ।

विगतको तुलनामा यस वर्ष मह उत्पादन निकै कम भएको उनको भनाइ छ ।

मौसम परिवर्तनका कारण मह उत्पादन कम भएको हुनसक्ने कार्यालयका निमित्त प्रमुख महेश आर्चायले बताए। उनले भने, ‘सल्यान मौरीपालनका लागि राम्रो सम्भावना भएको क्षेत्र हो तर यस वर्ष मह उत्पादन घटेको छ ।’

यस वर्ष कार्यालयले कालीमाटी गाउँपालिकामा रहेका २ ओटा मौरीपालन पकेट क्षेत्रलाई ब्लकको रूपमा विकास गर्न लागेको आचार्यले बताए। यसका लागि ३९ लाखभन्दा बढी रुपैयाँ विनियोजन भएको उनको भनाइ छ ।

यस्तै, जिल्लामा मौरी स्रोत केन्द्र सञ्चालन गर्ने तयारी रहेको समेत उनले जानकारी दिए ।

प्रकाशित मितिः     २० माघ २०७६, सोमबार १४:४०  |