दाङ, फागुन २ । दाङको बेलझुण्डीमा सञ्चालन हुन लागेको प्रदेश एक्स्पोलाई प्रभावकारी बनाउन संघीय सांसद र प्रदेश सांसदसँग छलफल भएको छ । जिल्ला समन्वय समितिमा आज सांसदहरुसँग छलफल भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख तथा प्रदेश एक्स्पो मूल समारोह व्यवस्थापन तथा कार्यक्रम सञ्चालन उप-समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षता भएको छलफलमा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, प्रदेशसभा सदस्यहरु दामा शर्मा, इन्द्रजित चौधरी, अमरबहादुर डाँगी, सरस्वती गौतम, अर्जुनकुमार श्रेष्ठ, समन्वय समितिका उप्रमुख श्रीधर शर्मा पौडेल र महेन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक मेनका पोख्रेलको सहभागिता थियो ।
छलफलले सवै राजनीतिक दलहरुलाई प्रदेश एक्स्पोमा आ–आफनोतर्फबाट जनसहभागिता गराउन अनुरोध गर्ने निर्णय भएको समन्वय अधिकारी काशी राम गैरेले वताउनुभयो । । प्रदेश एक्स्पोमा सवैपालिकालाई प्रत्येक वडाहरुबाट वडास्तरीय व्यानर सहितको उपस्थित गराउने, जिल्ला स्थित सवै संघ/ संस्थाहरुलाई उपस्थितको लागि अनुरोध गर्ने, जिल्लाका सवै विद्यालयहरुलाई आ-आफना विद्यार्थीहरुलाई प्रदेश एक्स्पोमा अवलोकन गर्ने व्यवस्था मिलाउनको लागि शिक्षा विकास तथा समन्वय इकाईलाई पत्रचार गर्ने निर्णय गरेको उहाँले बतउनुभयो ।
छलफलले प्रदेश एक्स्पोको व्यवस्थापन अझ प्रभावकारी बनाउन प्रदेश सांसदहरुलाई अनुगमन तथा निर्देशन दिन अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश ५ सरकारले प्रदेश एक्स्पोको अहिले तयारी तिब्र पारेको छ । यही फागुन १०, ११ र १२ गते प्रदेश सरकारको आयोजनामा बेलझुण्डीमा एक्स्पो सञ्चालन हुन लागेको छ ।