खजुरा गाउँपालिकामा ज्येष्ठ नागरिकका लागि निः शुल्क स्वास्थ्य शिविर संचालन


खजुरा-खजुरा गाउँपालिकाले आजदेखि जेष्ठ नागरिकका लागि बिशेषज्ञ सेवा सहितको निः शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । वडा नं. १ को राधापुरबाट जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा शुरु गरिएको हो ।

शिविरको उद्घाटन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले जेष्ठ नागरिकका लागि विशेषज्ञ सेवासहितको शिविर संचालन गरिएको जानकारी दिए । उनले बिगत २ वर्षदेखि नै घरदैलोमै पुगेर जेष्ठ नागरिकलाई सेवा दिने गरेकोमा यो वर्षदेखि यसलाई अझ प्रभावकारी ढंगले संचालन गर्न लागिएको बताए ।

फागुन ३ गते देखि १० गते सम्म खजुरा गाउँपालिको ८ वटै वडामा जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य शिविर राधापुरबाट शुरु गरेर रनियापुरमा समापन गरिने खजुरा गाउँपालिका नर्सिङ्ग अधिकृत तथा शिविर संचालन संयोजक लक्ष्मी केसीले जानकारी दिइन् ।

उनले गाउँपालिबाट पाउने जेष्ठ नागरिक भत्ताको प्रमाण ल्याएर आएका जेष्ठ नागरिकहरुलाई शिविरमा ब्लड सुगरको जाँच देखि रक्तचाप र मधुमेहको १५÷१५ दिनमा औषधि दिईने संयोजक केसीले बताईन् । उनले शिविरमा मेडिकल डाक्टर २ जना र फिजिसियन डाक्टर १ जना समेत सिङ्गो गाउँपालिकाबाट स्वास्थ्यको टिम शिविरमा खटिएको बताईन् ।

रक्तचाप, मधुमेहलागयतका सेवा विशेषज्ञ टोलीले दिने केसीले जनाईन् । वडा नं. १ का वडाध्यक्ष सुमन मल्लले खजुरा गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर जेष्ठ नागरिकहरुका लागि भएको बताए । उनले यस शिविर लगायत लगातार तेश्रो शिविर सञ्चालन भएको भन्दै यस पटकको शिविर फिजिसियन सम्बन्धिको सुबिधा भएको र आगामी दिनमा आँखाको शिविर सञ्चालन गरिने जनाए ।

राधापुर शिविरमा बृद्ध महिला १ सय ७ र बृद्ध पुरुष ४९ गरि जम्मा १ सय ५६ जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको खजुरा गाउँपालिका जनस्वास्थ्य अधिकृत पूर्ण खड्काले जानकारी दिए । उनले शिविरमा ३ जना ९० बर्षकी बृद्ध महिलाले समेत स्वास्थ्य परिक्षण गरेको बताए ।

प्रकाशित मितिः     ३ फाल्गुन २०७६, शनिबार १९:२८  |