कोरोना भाइरसको असर : बजारमा नयाँ सामानको अभाव


नेपालगन्ज ९ फागुन – फागुन दोस्रो साता लागिसक्यो । तपाईं बाक्ला कपडा दराजमा थन्काएर हलुका कपडा झिक्दै हुनुहुन्छ होला। कि त अहिलेको मौसम सुहाउँदा कपडा किन्न पसल धाउँदै हुनुहुन्छ होला ।

तपाईं जाने पसलका साहुजीलाई अहिले भ्याइनभ्याइ हुनुपर्ने हो। पुराना सामान थन्क्याएर नयाँ निकाल्ने चटारो ठूला थोक व्यापारीलाई हुनुपर्ने हो। यो वर्ष भने अधिकांश व्यापारीसँग पसल खोलेर कुरेर बस्नुबाहेक विकल्प छैन ।

विशेषगरी चीनबाट लुगाफाटा ल्याएर बिक्री गर्ने व्यापारीहरूलाई यो वर्ष कोरोनाले सताएका छ । पछिल्लो दुई महिनादेखि उताबाट सामान आएको छैन । यो यामका लागि नयाँ कपडा अर्डर गरिन्थ्यो। अहिलेसम्म बजारमा नयाँ कपडा देखिन थालिसक्थे। तर यो सबै ठप्प भएको महाबौद्धका होलसेल कपडा व्यापारी भरत कार्की बताउँछन्।

भरतले यो यामका निम्ति करिब १ करोड २० लाख बराबरको कपडा अर्डर गरेका थिए। एक महिना अगाडि आइपुग्नुपर्ने सामान केही दिन त चीनको चाडपर्वका कारण रोकियो। त्यसपछि लासादेखि केरुङको बाटोमा हिमपात भएर थप केही दिन रोकियो। यसपछि भने कोरोनाले उनका सामान नेपालको सीमासम्म पनि आउन सकेन।

’सामान कहिले आउँछ अब थाहै भएन,’ भरतले भने, ’कपडाको अत्यधिक माग हुने समय हो। देशभरका हाम्रा खुद्रा व्यापारीले फोन गरिरहेका छन्। उनीहरूलाई अहिले सामान आएको छैन, काठमाडौं नआउनु भनेका छौं। फाट्टफुट्ट पसलमा छिर्ने ग्राहकलाई पनि स्टक सामान मात्र छ, नयाँ छैन भन्नुपरेको छ।

भरतका अनुसार पोहोरको तुलनामा अहिले दस प्रतिशत पनि व्यापार हुन सकेको छैन। सामान नेपाल आउन नसक्दा साना(ठूला व्यापारीदेखि ग्राहकसम्मलाई समस्या पर्ने उनले बताए।

’सामान हाल्न जाँदा हामी सहकारीदेखि बैंकसम्मबाट ऋण लिएर जान्छौं। बाटोमा सामान रोकिए हाम्रो ब्याज, कन्टेनर भाडासम्म सबै बढ्छ। त्यसले सामान महँगो बनाउँछ, ग्राहकलाई पनि भार पर्छ,’ उनी भन्छन्।

यो मौसममा विशेषगरी ट्राउजर, विन्ड चिटर र पूरा बाहुला कपडा बिक्री हुन्छ। सामान आउन एक महिना मात्र ढिलो भयो भने त्यसको बजार सकिहाल्छ। आएका सामान नबिक्ने भएकाले स्टकमा राखेर अर्को फागुनमा बेच्नुपर्ने भरत बताउँछन्।

हिमालय सीमापार वाणिज्य सघंका अध्यक्ष बच्चु पौडेलका अनुसार तातोपानी र रसुवा नाकामा ४ सय वटा कन्टेनर रोकिएका छन्। त्यसमा २ सय वटा कन्टेनरमा कपडा भएको उनले जानकारी दिए।

’एउटा कन्टेनरको साढे एक करोडका दरले हिसाब गर्दा ३ अर्बको त कपडा मात्र रोकिएको छ। नाका खुलेन भने पुरानो कपडाको स्टक पनि सकिन्छ। त्यसपछि भाउ बढ्ला भन्ने चिन्ता छ,’ पौडेलले सेतोपाटीसँग भने।

नेपालमा भियतनाम, थाइल्यान्ड, बंगलादेश लगायतबाट पनि कपडा भित्रिन्छ। तर ७० प्रतिशत चीनबाटै आउने उनले बताए।

भन्सार विभागको तथ्यांक अनुसार चीनबाट आर्थिक वर्ष २०७५(७६ मा २ खर्ब साढे ५ अर्ब रुपैयाँ बराबरको सामान आएको थियो। त्यस्तै यो वर्षको पहिलो ६ महिनामा १ खर्ब १८ अर्बको सामान आइसकेको छ।

’अरु देशबाट सीमित प्रकारका कपडा आउने हो। चीनबाट धेरै भेराइटी र मात्रामा कपडा आउँछ। १०(१५ दिनमा नाका नखुले गर्मीका कपडा पनि अभाव होला भन्ने चिन्ता छ,’ उनले भने।

कपडा ढिलो आए व्यापारीहरूलाई घाटा हुने पौडेलले बताए।

अर्का्तिर चीनमै अधिकांश कपडा कारखाना बन्द छन्। उताबाट सामान ल्याउने अधिकांश नेपाली व्यापारी पनि अहिले कारोबार गरिरहेका छैनन्।

’सामान नै नभएपछि को लिन जाओस,’ कीर्तिपुरका खुद्रा कपडा व्यापारी राम महर्जनले भने, ’अब अर्डर दिएर ल्याइसक्दा पनि वैशाखमा मात्र आइपुग्छ भनेका छन्। नयाँ सामान लिनै नआउनु रे त्यो अगाडि। हाम्रो त बिजोगै हुने भयो नि।’

नयाँ सामान ल्याउन सम्भव नभए पनि बाटामा अड्केका सामान नेपाल भित्र्याउन राज्यले पहल गर्नुपर्ने व्यापारीहरूको तर्क छ। नेपालका लागि वैदेशिक व्यापारको दोस्रो ठूलो साझेदार मुलुकबाट आयात रोकिँदा यहाँको व्यापारमा असर पर्ने जानकारहरू बताउँछन्।

प्रकाशित मितिः     ९ फाल्गुन २०७६, शुक्रबार १३:३०  |