काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले अनुगमनको नाममा उद्योगी व्यवसायीमाथि धरपकड नगर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ । अनावश्यक रूपमा व्यवसायीमाथि धरपकड हुँदा व्यावसायिक वातावरण बिग्रिने चेम्बरको भनाइ छ । बिहीवार नवनियुक्त गृहसचिव महेश्वर न्यौपानेसँग भेट गरी चेम्बरको प्रतिनिधिमण्डलले यस्तो आग्रह गरेको हो ।
मालवस्तुको सहज, सरल र नियमित आपूर्तिको व्यवस्था गर्न वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग रहेको भन्दै व्यवसायीले गृह प्रशासन औद्योगिक एवं व्यावसायिक शान्ति सुरक्षाका लागि औद्योगिक क्षेत्र, इन्डस्ट्रियल क्लस्टर आदिमा सशक्त हुनुपर्ने धारणा व्यक्त गरे । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको टोलीले नवनियुक्त सचिव न्यौपानेलाई कार्यसफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।
भेटमा प्रतिनिधिमण्डलले कालो बजारीसम्बन्धी पुराना कानून खारेज गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले निजीक्षेत्र शहरी ट्राफिक व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको, विपद् व्यवस्थापनमा चेम्बरले सहयोग गरिरहेको जानकारी गृहसचिवलाई दिएका छन् । अब विपद् व्यवस्थापन प्राधिकरण बनिसके पनि वित्त पोषण जोखिम रणनीति बनाउन चेम्बरले गृह मन्त्रालयसँग सहकार्य गर्ने बताएको छ ।
‘पहिला थुन्ने अनि सुन्नेबाट समग्र व्यवसायी त्रसित छन्,’ अध्यक्ष श्रेष्ठले गृहसचिव पौडेललाई भने, ‘अनुसन्धान नगरी थुन्ने कार्यले व्यवसायीको साखमा गिरावट आएको छ, यसप्रति सरकारले गम्भीरताका साथ विचार गर्नुपर्छ ।’ अध्यागमनमा हाल भारत जाँदा स्थलमार्गबाट प्रस्थानमा छाप नलगाउने हुँदा साना तथा मझौला र ठूला सबै उद्यमी व्यवसायीलाई नकारात्मक असर परेको श्रेष्ठको भनाइ छ ।
सो अवसरमा गृहसचिव महेश्वर न्यौपानले चेम्बर अफ कमर्शका अध्यक्ष लगायत प्रतिनिधिमण्डलले राखेका प्रस्तावलाई सरकारले सकारात्मक सोचका साथ अगाडि बढाउने विश्वास दिलाए । सरकार र निजीक्षेत्रबीच आफूले समन्वयात्मक भूमिका निर्वाह गर्ने उनले बताए ।