कर्जा लगानीमा ‘पैसा’ विधिको प्रयोग


  • नारायण अधिकारी

नेपालबाट सामान्य अर्थमा बैंक तथा वित्तीय संस्थाको मुख्य काम भनेको पैसा लिने र दिने हो मानिन्छ । पैसा लिने क्रममा केही विशिष्ट किसिमका जोखिमहरू हुन सक्छन्, जसलाई नियाकीय निकायबाट प्राप्त निर्दिष्ट मार्गदर्शनअनुरूप सानै प्रयासले पनि निराकरण गर्न सकिने हुन सक्छ ।

कर्जा लगानी गर्ने क्रममा अपनाउनुपर्ने सावधानीका महत्त्वपूर्ण पाँचओटा तत्त्वहरूलाई समेटेर ‘पैसा’ (पीएआईएसए) विधिको नामकरण गरिएको हो । यसमा पहिलो अक्षरबाट पर्पोज अफ फन्ड अर्थात् के उद्देश्य प्राप्तिका लागि पैसा मागिएको हो भन्नेबारेमा जानकारी राख्नुपर्छ । दोस्रो अक्षरबाट एक्विटेन्स विभ कस्टमर अर्थात् ग्राहकसँगको चिनजानको माध्यम एवम् स्रोतका बारेमा जानकार हुनुपर्छ । तेस्रो अक्षरबाट आइबाट इनकम सोर्स फर द रिपेमेन्ट अर्थात पैसा लगिसकेपछि ब्याज तथा साँवा के बाट तिर्न सक्ने हो भनी ग्राहकको आम्दानीको स्रोतको एकिन गर्नुपर्छ ।

चौथो अक्षर एसबाट सेभिङ ह्याबिट एन्ड बैकिङ ट्रान्ज्याकस अर्थात् आम्दानी भएअनुसार बचतलाई के कसरी परिचालन गरिरहेको छ भन्ने सम्बन्धमा जानकार हुनुपर्छ । पाँचौं अक्षर एबाट एसेट्स अफर्ड फर सेक्युरिटी एन्ड कोल्याटरल अर्थात् पैसा लगिसकेपछि कथम कदाचित् ग्राहकले ब्याज तथा साँवा तिर्न नसकेको अवस्थामा पनि बैैक तथा वित्तीय संस्थालाई नोक्सानीबाट जोगाउन के कस्तो सम्पत्तिलाई धितोका रूपमा स्वीकार गर्ने भन्ने कुरालाई समावेश गरिएको छ ।

पैसा विधिमा उल्लेख गरिएको पाँच महत्वपूर्ण तत्वको उचित विश्लेषण गर्न सकियो भने एक हदसम्म कर्जा जोखिम न्यूनीकरणमा मद्दत पुग्ने देखिन्छ ।

न्यूनतम रूपमा ‘पैसा’ विधिका तत्त्व नियालेर विश्लेषण गर्न सकियो भने उल्लेख्य रूपमा कर्जाको जोखिमलाई निराकरण गर्न सकिन्छ । यसमा ग्राहकले पैसा के प्रयोजनका लािग माग गरेको हो, आवश्यक हो वा होइन, उसको आवश्यकतालाई परिपूर्ति गर्न कानूनी तथा नियमाकीय निकायको मार्गनिर्देशनले बाधा पर्छ कि पर्दैन भन्ने कुराको ख्याल राख्नुपर्ने हुन्छ । कस्तो खालको ग्राहकबाट कर्जाको माग भइरहेको छ । बैैंक तथा वित्तीय संस्थासमक्ष उक्त प्रस्ताव के कसरी आइपुगेको छ । ग्राहकको चरित्र एवम् छवि, व्यापार÷व्यवसायको वस्तुस्थिति पहिचान गर्ने आधार केके हुन भन्ने कुराले कर्जा जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । कर्जाको साँवा तथा ब्याज तिर्नका लागि केकस्तो आम्दानीको स्रोतलाई आधार बनाइएको छ । कर्जा अवधिभर उक्त आय स्रोतबाट आम्दानी हुन सक्छ कि सक्दैन भन्ने कुरालाई पनि यस विधिमा महत्त्वका साथ हेरिएको छ । साथसाथै आम्दानी गरेअनुरूप बचत भइरहेको छ कि छैन नगदको प्रवाह केकस्तो छ भन्ने कुरा पनि अर्को महत्त्वपूर्ण कुरा हो, जसबाट भोलिको दिनमा साँवा तथा ब्याज तिर्न ग्राहक समर्थ हुन सक्छ कि सक्दैन भन्ने कुराको आकलन गर्न सकिन्छ ।

खराब समय आयो भने कर्जा नोक्सानीलाई न्यूनीकरण गर्न पर्याप्त चल अचल सम्पत्ति सुरक्षणका रूपमा प्राप्त हुन्छ वा हुँदैन भन्ने कुरा अत्यन्त महत्त्वपूर्ण हुन आउँछ । कर्जा जोखिम न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्यास र उपायहरू धेरैभन्दा धेरै हुन सक्छन् । ‘पैसा’ विधि उल्लेख गरिएको पाँच महत्त्वपूर्ण तत्त्वको उचित विश्लेषण गर्न सकियो भने एक हदसम्म कर्जा जोखिम न्यूनीकरणमा मद्दत पुग्ने देखिन्छ ।

कर्जा लगानीको आकार तथा गुणस्तरले त्यस बैैंक तथा वित्तीय संस्थाको नाफामा प्रत्यक्ष असर पारिरहेको हुन्छ । गुणस्तरयुक्त कर्जा लगानीबाट बैैंक तथा वित्तीय संस्थाको नाफामा उल्लेख्य वृद्धि हुँदै जान्छ । तर, कर्जा लगानीको आकार ठूलै भएको अवस्थामा त्यसबाट आर्जित ब्याज समयमा नै असुल हुन नसकी कर्जा नियमित हुन नसकेको अवस्थामा भने नाफामा उल्लेख्य गिरावट आउने गर्छ । मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले कर्जा लगानीलाई ५ किसिममा वर्गीकरण गरी कर्जा नोक्सानी व्यवस्था गर्न निर्देशन दिएको छ । ती हुन् स् असल कर्जा, सूक्ष्म निगरानी, कमसल कर्जा, शंकास्पद कर्जा र खराब कर्जा ।

साँवा तथा ब्याज भुक्तानीको मितिले १ महीनासम्म मात्र नियमित हुन नसकेको कर्जा र नयाँ कर्जा लगानीलाई असल कर्जा मानेको छ । यस्तो कर्जामा एक प्रतिशत रकम कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । ३ महीनासम्म नियमित हुन नसकेको, नवीकरण नभई अस्थायी रूपमा भुक्तानी अवधि बढाइएको, निष्क्रिय कर्जामा वर्गीकरण भएको ऋणीलाई प्रवाहित कर्जा, लगातार २ वर्षदेखि खुद नोक्सानीमा रहेको वा नेटवर्थ ऋणात्मक रहेको फर्म, कम्पनी वा संस्थालाई प्रवाहित कर्जालाई सूक्ष्म निगरानीमा राखिएको छ । रू। १ अर्ब वा सो भन्दा बढी रकमका सहवित्तीयकरण कर्जामा परिणत नभएका बहुबैंकिङ कर्जाहरू, ऋणीको नगद प्रवाह तथा परियोजना सञ्चालनको अवस्था कमजोर भएको कर्जा पनि यसभित्र राखिएको छ । कर्जा स्वपुँजी अनुपात ८०ः२० भन्दा बढी हुने गरी प्रवाह भएका कर्जा पनि यसभित्र पर्छ । यस्तो कर्जाको आकारको ५ प्रतिशत रकम कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ ।

साँवा तथा ब्याज भुक्तानीको मितिले ३ महीनाभन्दा बढी ६ महीनासम्म नियमित हुन नसकेकोलाई कमसल कर्जाअन्तर्गत राखिन्छ । उक्त कर्जाको आकारको २५ प्रतिशत रकम कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । त्यस्तैगरी, साँवा तथा ब्याज भुक्तानीको मितिले १ वर्षसम्म नियमित हुन नसकेको कर्जा लगानीलाई शंकास्पद कर्जाअन्तर्गत वर्गीकरण गरिएको छ । यस्तो कर्जाको आकारको २५ प्रतिशत रकम कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । साँवा तथा ब्याज भुक्तानीको मितिले १ वर्षभन्दा बढी समयसम्म नियमित हुन नसकेको कर्जा लगानीलाई खराब कर्जाअन्तर्गत वर्गीकरण गरी उक्त कर्जाको आकारको शतप्रतिशत रकम कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ ।

लेखक बैंकर हुन्

प्रकाशित मितिः     ९ फाल्गुन २०७६, शुक्रबार १४:३२  |