सात महिनामा १२ अर्ब ६८ करोडको मोबाइल आयात


-गणेश सुवेदी/बिजमाण्डूबाट

काठमाडौं। नेपालमा मोबाइलको आयात बढेको छ। त्रिभुवन विमानस्थल भंसार कार्यलयका अनुसार गत साउनदेखि माघसम्मको सात महिनामा १२ अर्ब ६८ करोड २ लाख ९३ हजारको मोबाइल आयात भएको छ।

यो अवधिमा २६ लाख ८६ हजार ६ सय ४८ थान मोबाइल नेपाल भित्रिएका छन। यो तथ्याकं गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब २ लाख रुपैयाँले बढी हो। गत आवको साउनदेखि माघ सम्ममा १० अर्ब ६६ करोड ५९ लाख ५८ हजार रूपैयाँ मूल्यका २० लाख ९८ हजार ९ सय ७७ थान मोबाइल आयात भएका थिए।

कार्यलयको तथ्यांकअनुसार युरोप, अमेरिका र अष्ट्रेलिया लगायत ७५ वटा भन्दा बढी देशबाट नेपालमा मोबाइल आइपुग्छ। कोरिया, हङकङ, थाइल्याण्ड, अमेरिका, ताइवान, फिनल्याण्ड, जापान, अष्ट्रेलिया, बेलायत, जर्मनी, डेनमार्क, दुबइ, मलेसिया, कुवेत, साउदी अरब, क्यानडा, दक्षिण अफ्रिका, स्पेन, स्वीटजरल्याण्ड, बंगलादेश, माल्टा, इराक, कतार, मकाउ, फ्रान्स र पोल्याण्ड लगायतका मुलुकबाट मोबाइल नेपाल भित्रिने गरेका छन्।

भंसार कार्यलयको रेकर्डअनुसार सबैभन्दा बढी चीन, भियतनाम र भारतबाट मोबाइल आयात भएको छ। गत आवमा चीनबाट मात्रै ६६ लाख ७२ हजार ३ सय ८७ वटा आयात भएको छ भने चालु आवका सात महिनामा १९ लाख ८६ हजार ४ सय ६७ थान मोबाइल आयात भएको छ। जुन गत आवको यही अवधिमा आयात भएको भन्दा ६० हजार ७ सयले बढी हो। गत वर्ष यो अवधिमा १९ लाख २५ हजार ७ सय ५२ थान मोबाइल आयात भएको छ।

त्यस्तै गत वर्ष भियतनामबाट ६ लाख ८९ हजार २ सय ४० थान मोबाइल आयात भएको छ भने चालु आवको माघसम्म १ लाख ९१ हजार थान मोबाइल आयत भएको छ। गत वर्ष भारतबाट ४ लाख ९४ हजार २ सय ९६ थान र चालु आवमा ४२ हजार ४ सय थान मोबाइल सेट आयात भएको रेकर्ड छ।

नेपालमा व्यवसायीक रूपमा ल्याइने मोबाइल अधिकांश चीन, भियतनाम र भारतबाटै आयात हुने गरेकाले यो संख्या बढी देखिएको हो। त्यसबाहेक अन्य मुलुकबाट व्यवसायिक र व्यक्तिगत प्रयोजनका लागि नेपालमा मोबाइल आयात हुने गरेको छ।

हाल सरकारले एक व्यक्तिले एक वा दुई भन्दा बढि मोबाइल ल्याउन नपाउने व्यवस्था भएपछि कतिपय देशबाट आउने यात्रुले त्यस्ता मोबाइलको कर तिरी वैधानिक बनाएर ल्याउने थालेका छन्। यसले संख्या बढेको देखिएको त्रिभुवन विमानस्थल भंसार कार्यालयका प्रशासकीय अधिकृत ठगबहादुर महोत्राले बताए। यो तथ्यांक त्रिभुवन विमानस्थलबाट मात्रै आयात भएका मोबाइलको भएकाले देशका अन्य नाका स्थानबाट पनि यही परिणाममा मोबाईल भित्रिरहेको महोत्राले बताए।

गत आर्थिक वर्ष ०७५र७६ मा त्रिभुवन विमानस्थलबाट मात्रै करिब ४१ अर्ब बढी मूल्यका मोबाइल सेट आयात भएका छन्। एक वर्षको अवधिमा ४१ अर्ब ६७ करोड ३५ लाख ३४ हजार ३ सय ९ रूपैयाँ मूल्य बराबरका ७८ लाख ६० हजार ४ सय ९४ थान मोबाइल सेट भएका छन्।

कार्यालयका अनुसार मोबाइल आयातमा लाग्ने अन्तःशुल्क र मूल्य अभिवृद्धि कर ९भ्याट० वापत ६ अर्ब ५४ करोड ८ लाख ६३ हजार ८ सय ७४ रूपैयाँ राजस्व संकलन भएको छ। गत आवमा भंसार कार्यलले भ्याटवापत ५ अर्ब ५४ करोड २७ लाख ५० हजार १ सय १० रूपैयाँ कर असुल गरेको छ। अन्तःशुल्कवापत ९९ करोड ४३ लाख ३७ हजार ३ सय ३० रूपैयाँ उठेको छ।

त्यस्तै चालु आवको सात महिनामा कार्यलयले भ्याटवापत १ अर्ब ६८ करोड ९० लाख २७ हजार ४ सय ८२ रुपैयाँ असुल गरेको छ। भने अन्तःशुल्कवापत ३१ करोड ६८ लाख ९१ हजार ६ सय ९१ रूपैयाँ राजस्व संकलन भएको छ।

प्रकाशित मितिः     १० फाल्गुन २०७६, शनिबार १०:२१  |