यसरी धरासायी बन्यो यस बैंक


रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) ले कारोबारमा प्रतिबन्ध लगाएको निजी क्षेत्रको यस बैंक मा सरकारी बैंकले लगानी गर्ने भएको छ।

नेपालमा समेत लगानी रहेको स्टेट बैंक अफ इण्डिया एसबीआइले यस बैंकमा लगानी गर्ने भएको हो। एसबीआइको सञ्चालक समितिले बिहीबार यस बैंकको सेयरमा लगानी गर्ने निर्णय गरेको हो। बोर्डले सेयर खरिदका लागि सैद्धान्तिक स्वीकृति दिएको हो।

आरबीआइले यस बैंकलाई कारोबारमा प्रतिबन्ध लगाएको केही घण्टामै एसबीआइले सेयर खरीद गर्ने निर्णय गरेको हो। यस बैंकबाट सर्वसाधारणले ५० हजार रुपैयाँ भारुभन्दा बढी निकाल्न नपाउने निर्णय आरबीआइले गरेको छ।
यस बैंकको सञ्चालक समिति खारेज गरिएको छ। यस बैंकलाई यत्तिकै छाड्दा निक्षेपकर्ता थप जोखिममा पर्ने भन्दै आरबीआइले सुधार प्रक्रिया थालेको हो। नेपालमा समस्याग्रस्त घोषणा भनेजस्तै भारतको बैंकिङ ऐन(१९४९ को दफा ४५ मा निजी क्षेत्रका बैंकहरुलाई समस्याग्रस्त घोषणा गरेर सुधार प्रक्रिया थाल्ने ब्यवस्था छ।

आरबीआइको प्रतिबन्धपछि यस बैंकका शाखाहरुमा लामो लाइन लाग्न थालेको छ। पैसा डुब्यो भन्ने बुझाइ ब्याप्त हुँदा लामो लाइन लागेको बिजनेस टुडेले जनाएको छ। भारतमा निजी क्षेत्रको बैंकमाथि नियामकले यति ठूलो ुएक्सनु लिएको हो।

पछिल्ला केही वर्षदेखि यस बैंकको खराब ऋणहरु बिग्रिरहेको थियो। उसको पुँजी पनि क्षयीकरण भइरहेको थियो। केन्द्रीय सरकारसँग छलफल गरेपछि आरबीआइले कारोबार प्रतिबन्ध गर्ने निर्णय गरेको हो।

यस बैंकमा एसबीआइले मात्र लगानी गर्दैन, लगानी गर्न चाहने इच्छुक अन्य संस्थाको नेतृत्व एसबीआइले गर्नेछ। सेयर एसबीआइलगायतले किन्ने भएपछि यस बैंकको सेयर मूल्य २६ प्रतिशतले बढेको छ। अर्कोतिर एसबीआइको सेयर मूल्य ५ प्रतिशतले घटेको छ।

करिब ४० अर्ब डलरको वासलात भएको यस बैंक डुब्दा भारतीय अर्थतन्त्र नै प्रभावित हुने स्थिति छ। त्यही भएर सरकारले हतारहतार एसबीआइमार्फत यस बैंकको उद्धार गर्ने निर्णय गरेको हो।

नगद अभावबाट जुधिरहेको यस बैंकको पछिल्लो त्रैमासको नोक्सानी साढे ६ अर्ब भारु थियो। बैंक समस्यामा परेकै कारण आरबीआइले सन् २०१८ मा पूर्वप्रमुख कार्यकारी तथा संस्थापक सेयरधनी राणा कपुरको कार्यकाल घटाइदिएको थियो। कपुरको ठाउँमा प्रमुख कार्यकारी बनेका रवनीत गिलले पुँजी जुटाउन पहल गरेका थिए। सन् २०१८ मा बैंकको सेयर मूल्य ४०० भारु थियो। अहिले घटेर ३५ रुपैयाँमा आएको छ।

यस बैंकको इतिहास खासै लामो छैन। सन् २००४ मा राणा कपुरले आफ्ना नातेदार अशोक कपुरसँग मिलेर यस बैंक खोलेका हुन्। २६र११ को मुम्बइ हमलामा अशोक कपुर मारिएका थिए। त्यसपछि अशोक कपुरकी पत्नी मधु कपुर र राणा कपुरबीच बैंकका बारेमा विवाद सुरु हुन थालेको थियो।

मधु आफ्नी छोरीका लागि सञ्चालक समितिमा ठाउँ बनाउन चाहन्थिन। बैंक स्थापनाको चार वर्षभित्रै साझेदारबीच समस्या आएपछि बैंक अहिलेको अवस्थामा पुगेको हो। राणा कपुर यस बैंकको सेयरलाई हिरा मोती भन्ने गर्थे। उनी सेयर बेच्न चाहँदैनथे। तर सन् २०१९ को अक्टुबरमा उनको सेयर स्वामित्व ४।७२ प्रतिशतमा झरेको थियो।

बैंकको ग्राहकको सूचीमा सानाभन्दा ठूला ऋणी धेरै छन्। बैंकले त्यस्ता ठूला कर्पोरेटमा लगानी गरेको छ, जुन् सुरुवातदेखि नै घाटामा चलिरहेका छन्। ती कम्पनी डुबेमा बैंकको ऋण नउठ्ने निश्चित नै छ।

भारतीय निजी क्षेत्रको लगानीमा खुलेकामध्ये चौथो सबैभन्दा ठूलो बैंकको हेडक्वाटर मुम्बइमा छ। यसको सञ्जाल पनि निकै ठूलो छ। यसको एक हजारवटा शाखा र १८०० वटा एटीएम बुथ छन्।

यस बैंकको महिला विशेष शाखा पनि छ। यसले महिलाका लागि विशेष प्रकारको सेवा पनि उपलब्ध गराउँदै आएको छ। बैंकको ३० भन्दा बढी यस एसएमइ शाखा पनि छ। जसले साना तथा मझौला उद्यमीहरुलाई ऋण दिन्छ।

प्रकाशित मितिः     २४ फाल्गुन २०७६, शनिबार १४:२९  |