खजुरा(बाँके), २ चैत : बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर आज आइतवार महिला हक अधिकार सम्बन्धमा वर्तमान कानूनमा भएका व्यवस्थाबारे अन्तरक्रियात्मक अभिमुखीकरण तथा श्रमिक महिला सम्मान गरिएको छ ।
कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षतिले संविधानले महिलाका अधिकार सुनिश्चित गरेको बताउँदै खजुरा गाउँपालिकाले त्यसैमा टेकेर अधिकार कार्यान्वयन गर्दै आएको बताए । उनले श्रमिक महिला, पछाडि पारिएका महिलाहरुको खोजी गर्दै खजुराले उनीहरुको लागि सीप तथा तालिममार्फत जीवनयापनदेखि व्यवसायिकतासम्मको सहयोग गर्ने नीति ल्याएको उल्लेख गरे ।
अध्यक्ष कक्षपतिले यसै वर्ष २० जना अपांगता भएका व्यक्ति र ३० जनता अति गरिबी तथा दयनीय अवस्था भएका महिलाका लागि मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत २० लाख रुपैयाँ छुट्याएर उनीहरुलाई व्यवसायिक सीप प्रदान गरिने बताए ।
उनीहरुलाई कपडाको झोला सिलाई तालिम दिएर मेसिन तथा कपडा व्यवस्थापन गरी सबैलाई व्यवसायिकरण गर्दै त्यसको बजार व्यवस्थापन पनि पालिकाले गर्ने प्रमुख कक्षपतिले बताए । खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले महिलालाई उत्पादनसंग जोड्नका लागि मोडेलका रुपमा उक्त कार्यक्रम ल्याइएको बताइन । उनले लक्षित वर्गसम्म पुग्ने र उपलब्धी हुने कार्यक्रम ल्याइने बताउँदै त्यसका लागि सबैको सहकार्य आवश्यक रहेको औल्याइन ।
उपप्रमुख विकले संघीयताको मर्म र भावना अनुसार नै सबैभन्दा नजिकको स्थानीय सरकार संचालन हुने विश्वास व्यक्त गरिन । कार्यक्रममा कानूनमा महिला अधिकारबारे सहजीकरण गर्दै नेपाल वारे एशोसिएशन उच्च अदालत तुलसीपुर इजलाश नेपालगन्जका अध्यक्ष तथा खजुरा गाउँपालिकाका कानूनी सल्लाहकार विकास आचार्यले वर्तमान कानूनमा महिलाका अधिकार सुश्चित गर्न धेरै सकारात्मक व्यवस्था ल्याएको औल्याए ।
८ जना महिला श्रमिक सम्मानित
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको सन्दर्भ पारेर आयोजना गरिएको कार्यक्रममा खजुरा गाउँपालिका ८ वडाबाट १÷१ जना गरी ८ जना श्रमिक महिलालाई सम्मान गरिएको छ । २ हजार नगद तथा दोसल्लाह ओढाएर उनीहरुलाई प्रोत्सान स्वरुप सम्मान गरिएको हो । बाँके युनेस्को क्लव, सुआहारा कार्यक्रम, बी ग्रुप, जनजागरण समाज, दलित महिला संघ, बाँके र स्याक नेपालको सहयोगमा खजुरा गाउँपालिकाको आयोजनामा उनीहरुलाई सम्मान गरिएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले जानकारी दिइन ।
उनका अनुसार श्रम गरेर आफ्नो घर परिवारको व्यवस्थापन गरी समाजमा अतुलनीय र अनुकरणीय योगदान पु¥याए वापत वडा नं. १ की श्यामप्यारी थापा, वडा नं. २ की गौरी विक, वडा नं. ३ की दुर्गा श्रीस, वडा नं. ४ की तिलसरा पुनमगर, वडा नं. ५ की मनकुमारी दर्लामी, वडा नं. ६ की हजारी सुनार, वडा नं. ७ की बिमला बिटालु, वडा नं. ८ की आश्रुम खाँ र उनका पति रजब्ब खाँलाई सम्मान गरिएको हो । खाँ दम्पतीले श्रम गरेर आफ्नो छोरीलाई कक्षा ११ सम्म अध्ययन गराइरहेका छन् । उनीहरु सबैलाई खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, कार्यपालिका सदस्यहरुले संयुक्तरुपमा सम्मान गरेका हुन ।