राष्ट्रिय युवा संघद्धारा राप्ती सोनारीमा तालाबन्दि गर्ने चेतावनी


राप्तिसोनारी गाउँपालिका अन्तर्गत पर्ने नदि नालाहरुको नेपाल सरकारको कानुन अनुसार ठेक्का दिन राष्ट्रिय युवा संघ नेपाल बाँकेले आह्वान गरेको छ ।

बाँकेका प्रमुख जिल्ल अधिकारी मार्फत आज ज्ञापन पत्र बुझाउदै युवा संघले राप्ती सोनारी गाउँ पालिकाले तीन पटक ठेक्का आह्वान गर्दा ठेक्का परेको कम्पनी वा व्यक्तिलाई ठेक्का नदिई बदर गरेको साथै पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र केही व्यक्तिको मिलेमतोमा नेपाल सरकारको कानुनभन्दा बाहिर गई आफ्नो अनुकुलका व्यक्तिलाई नदि जन्य पदार्थ उत्खनन तथा निकासी गर्ने मनसायका साथ केही व्यक्तिसँग सम्पर्क गरि पैँसा कमाउने उद्देश्य राखेकाले यसको विरोध जनाउदै सघंले निर्णय तत्काल सुधार्न चेतावनि दिएको छ ।

सघंका जिल्ला संयोजक कुस्माखर बस्याल र सह संयोजक आकाश कार्कीको हस्ताक्षर भएको ज्ञापन पत्रमा यस्तो किसिमको निर्णयले गर्दा राप्तिसोनारी गाउँपालिकाको विकास बजेटमा मात्र मात्र नभइ सिंगो बाँके जिल्लाको विकास बजेटमा असर गर्ने हुनाले नेपाल सरकारको मापदण्ड अनुरुप गतिविधि गर्न अनुरोध गरिएको छ ।

ज्ञापन पत्रमा मनोगत ढंगले यस पालिकाले गरेको निर्णय प्रति राष्ट्रिय युवासंघ नेपाल बाँके घोर भत्सर्ना गरेको जनाइएको छ । पार्टिगत वा व्यक्तिगत ढंगले नियुक्ति पत्र दिई नदि जन्य पदार्थ उत्खनन तथा निकासी गरेको पाइएमा पालिकामा तालाबन्दी गर्ने समेत युवा संघले चेतावनी दिएको छ ।

ज्ञापन पत्र बुझाउन राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य किशोर थापा , राष्ट्रिय युवा संघ नेपाल बाँकेका संयोजक र सह संयोजक क्रमश कुस्माखर बस्याल र आकाश कार्की ,ज्ञानेन्द्र ओली ,सुरेश जागा लगायतका दर्जनौं युवा संघ कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः     ६ चैत्र २०७६, बिहीबार १६:१२  |