कोरोनाले राजश्व असुली प्रभावित


नेपालगन्ज १४ बैशाख : कोभिड-१९ सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनले नेपालगञ्ज भन्सारमा राजश्व सङ्कलन प्रभावित भएको छ ।

पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७६र०७७ को चैत महीनासम्म लक्ष्यभन्दा करीब रु पौने तीन अर्ब कम राजश्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा रु। ११ अर्ब ५३ करोड सात लाख ७९ हजार राजश्ज सङ्कलन गर्नुपर्नेमा रु। आठ अर्ब ७६ करोड ४९ लाख ६७ हजार राजश्व सङ्कलन गरेको हो ।

लक्ष्यभन्दा रु। २ अर्ब ७६ करोड ५८ लाख १२ हजार कम राजश्व सङ्कलन भएको छ । यस वर्ष लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न चुनौती रहेका बेला गत चैत ११ गतेदेखि शुरु भएको बन्दाबन्दीले अत्यावश्यक बस्तुबाहेक अन्य सामान नआउँदा राजश्व सङ्कलन दर ह्वात्तै घटेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिए ।

भन्सार विभागले चालु आर्थिक वर्षमा नेपालगञ्ज भन्सार कार्यालयको लक्ष्यमा वृद्धि गरेपछि लक्ष्यानुसार राजश्व सङ्कलन गर्न समस्या परिरहेको समयमा कोरोना भाइरसका कारण मुलुक बन्दाबन्दीमा गएपछि त्यसको प्रभाव झनै परेको उनले बताए । बन्दाबन्दीमा पेट्रोलियम पदार्थ, ग्यास, खाद्यान्न, तरकारीलगायत अत्यावश्यक वस्तु मात्र आयात भएका कारण राजश्व सङ्कलन पनि घटेको छ । बन्दाबन्दी अझै लम्बिँदै गए राजश्व सङ्कलनमा ठूलो असर पर्ने कार्यालय प्रमुख निरौलाको भनाइ छ ।

उनका अनुसार गत आवमा रु। १२ अर्ब ३३ करोड एक लाख १६ हजार राजश्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा चालु आवमा लक्ष्यदरमा वृद्धि भएर रु। १५ अर्ब ४३ करोड ७५ लाख १४ हजार रहेको छ । नेपालगञ्ज नाकाबाट अत्यावश्यकीय खाद्यवस्तु चामल, मकै, दाल, आलु, गोलभेडालगायत तरकारीको आयात नियमित छ ।

नेपालगञ्ज नाकाबाट भित्रिने खाद्यवस्तु प्रदेश ५ का बाँके, बर्दिया र कर्णाली प्रदेशका सबै जिल्लामा जाने गरेको छ । बन्दाबन्दी शुरु भएपछि गत चैत ११ देखि २९ सम्म १९ दिनमा रु। ४२ करोड नौ लाख ६८ हजार ९ सय १९ को खाद्यान्न, तरकारी र फलफूल आयात भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत निरौलाले जानकारी दिए ।

सो अवधिमा रु। २७ करोड दुई लाख १६ हजार ४३१ मूल्य बराबरको ४६ लाख १३ हजार २५ किलो चामल, रु। २९ करोड २८ लाख ६ हजार ४६० मूल्यको ८९ लाख तीन हजार ६६५ किलो मकै र रु। एक करोड ४५ लाख ६९ हजार ६३ को दाल नेपालगन्ज नाका भएर भित्रिएको छ ।

अधिकृत निरौलाका अनुसार बन्दाबन्दी शुरु भएदेखि रु। दुई करोड ७१ लाख नौ हजार ८१८ को १० लाख ७० हजार ४०६ किलो आलु र रु। ८५ लाख ९४ हजार ९३९ बराबरको ४९ लाख आठ हजार ८२५ किलो गोलभेंडा आयात भएको छ ।

सो अवधिमा रु। चार करोड ३८ लाख २० हजार ५३३ मूल्यको नौ लाख १६ हजार केजीे चिनी आयात भएको छ । यसैगरी रु। दुई करोड ३७ लाख ९४ हजार ७ सय ३४ मूल्यको फलफूल र रु। ३५ लाख ७६ हजार ९४६ मूल्यका विभिन्नथरिका तरकारी पनि आयात भएको नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मितिः     १४ बैशाख २०७७, आईतवार १३:०६  |