महिला मोटरसाइकल राइडरहरुको अन्तर्राष्ट्रिय नेटवर्क गठन


काठमाडौं – नेपाली महिला मोटरसाइकल राइडरहरु पनि अन्तर्राष्ट्रिय नेटवर्कमा आवद्ध भएका छन् । WIMA अर्थात विमेन्स इन्टरनेसनल मोटरसाइकल एसोसिएसनको नेपाल शाखा अर्थात WIMA Nepal गठन भएको छ ।

सुनिता देशारको संयोजकत्वमा गठन गरिएको WIMA Nepal मा प्रतिभा गैरे सह–संयोजक, उस्मिता थापा सचिव, सोनी तण्डुकार कोषाध्यक्ष र गायत्री लिम्बु, प्रियंका सिटौला र सुलक्षणा खड्का सदस्य चयन भएका छन् ।

अनलाइन राइडिङ कोर्ष, टुरिङ -याली, सेफ्टी राइडिङ ट्रेनिङ तथा अन्य विभिन्न इभेन्टको घोषणा सहित WIMA नेपालको सार्वजनिकीकरण गरिएको छ । यसको मुल थिम Riding, Rallying, Touring रहेको छ । यसले अन्तर्राष्ट्रिय स्तरमा मान्यता समेत प्राप्त गरिसकेको छ ।

विगत लामो समय देखि संसारका महिला मोटरसाइकल राइडरहरुको विश्वव्यापी अभियानमा नेपाली महिला राइडरहरु पनि औपचारिक रुपमा जोडिएका हुन् । सन् १९५० मा ‘वुमेन्स इन्टरनेसनल मोटरसाइकल एसोसिएसन (WIMA) को स्थापना संयुक्त राज्य अमेरिकामा भएको हो ।

Louise Scherbyn संस्थापक अध्यक्ष रहेको WIMA World मा नेपाल समेत गरी ३२ देशमा राष्ट्रिय नेटवर्क र त्यसमा लाखौ महिला राइडर आवद्ध रहेका छन् । सन् २०१७ बाट स्पेनकी Asa Ohqvist ले यसको नेतृत्व गरिरहेकी छिन् भने महिला टुरिङ र Pink Ribbon Rides यसका मुख्य पहिचान हुन् ।

टु ह्विल टुरिङको लागि नेपाललाई विश्व प्रसिद्ध गन्तब्य बनाउने हो भने यस नेटवर्कले ठूलो भूमिका खेल्न सक्छ ।

प्रकाशित मितिः     २३ जेष्ठ २०७७, शुक्रबार ११:२०  |