समयमै काम सकिए ठेकदार र कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र


काठमाडौं । सरकारले आयोजना तथा सार्वजनिक खरिदका कार्यहरु तोकिएको समयमै नसकिने समस्या समाधान गर्न पहिलोपटक कानूनमा प्रोत्साहनमुलक व्यवस्था गरेको छ ।

सरकारले संसदमा दर्ता गरेको सार्वजनिक खरिद ऐन-२०६३मा सरकारले पहिलोपटक सम्झौता गर्दा तोकिएको अवधिभित्र काम सकिए कर्मचारी र ठेकदारलाई पुरस्कार, प्रोत्साहन सुविधा र प्रशंसापत्र दिने व्यवस्था गरिएको छ ।

यो विधेयक जस्तोको तस्तै पारित भए सुरुमा निर्धारित समावधिभित्रै गुणस्तरीय रुपमा निर्माणको काम सक्ने व्यवसायीलाई पुरस्कार स्वरुप तोकिए बमोजिमको रकम र प्रशंशापत्र दिने प्रचलन सुरु भएको छ ।

त्यसैगरी समयमै राम्रो काम भएमा सरकारी अड्डाका कर्मचारीको हकमा पनि यस्तै व्यवस्था प्रस्ताव गरिएको छ । खरिद सम्बन्धी काम निर्धारित सुरु समयावधिभित्रै गुणस्तरीय रुपमा सम्पादन गरेर उत्कृष्ट नतिजा प्राप्त भएको आधारमा त्यस्तो खरिद कार्यमा संलग्न कर्मचारीलाई तोकिए बमोजिम प्रोत्साहन सुविधा दिन सकिने व्यवस्था गरिएको छ ।

तर, कानून विपरीत खरिदसम्बन्धी काम गरेको पाइएमा कर्मचारीलाई कारवाही गर्नसक्ने व्यवस्था पनि विधेयकमा छ ।

प्रकाशित मितिः     २३ जेष्ठ २०७७, शुक्रबार १२:२०  |