चीनको निर्यात खुम्चियो, आयात ४ वर्षकै खराब


जेठ २५, । गत महीना चीनको निर्यात खुम्चिएको छ । कोरोना भाइरसको महामारीका कारण विश्वभर माग ध्वस्त हुने क्रम जारी रहेसँगै निर्यात प्रभावित भएको हो ।

सो अवधिमा आयातमा भने ४ वर्षयताकै खराब कमी आएको छ । आयातमा आएको अपेक्षाकृत उच्च कमीले विश्वको आर्थिक वृद्धिदर सुस्ताएसँगै उत्पादकहरुप्रतिको बढ्दो दबाब उजागर गरेको छ ।

पछिल्लो तथ्यांकले चिनियाँ नीतिनिर्माताहरुलाई करोडौं कामदारहरुको जीविका निर्भर रहेको यस क्षेत्रलाई टेवा दिन थप स्टिमुलस ल्याउने दबाब बढाएको छ । गत वर्षको सोही अवधिको तुलनामा मेमा निर्यात ३ दशमलव ३ प्रतिशतले घटेको भन्सार विभागले आइतवार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

अप्रिलमा भने निर्यातमा साढे ३ प्रतिशतको अप्रत्याशित वृद्धि देखिएको थियो । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरुले भने समीक्षा अवधिमा निर्यात ७ प्रतिशले घट्ने बताएका थिए ।

गत वर्षको सोही अवधिको तुलनामा मेमा आयात १६ दशमलव ७ प्रतिशतले घटेको छ । अघिल्लो महीना पनि आयत १४ दशमलव २ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा आयत ९ दशमलव ७ प्रतिशतले घट्ने अनुमान अर्थशास्त्रीहरुले गरेका थिए । समीक्षा अवधिमा बाँकी विश्वसँगको व्यापारमा चीनले ६२ अर्ब ९३ करोड डलर बचत गरेको छ ।

यो सन् १९८१ मा रोयटर्सले चीनले आयात निर्यात तथ्यांक राख्न थालेयताकै उच्च हो । मेमा अमेरिकासँगको व्यापार बचत पनि बढेर २७ अर्ब ८९ करोड डलरमा पुगेको छ । चीन र अमेरिकाबीच कोरोना भाइरस, हङकङलगायत विषयमा तनाव बढिरहेकै बेलामा यो तथ्यांक सार्वजनिक भएको छ ।

समीक्षा अवधिमा अन्य सबै क्षेत्रका निर्यात घटेको भएपनि मेडिकल उपकरणमा भने वृद्धि देखिएको छ । मेको पुवार्द्धमा ६३ अर्ब २० करोड युआन बराबरको मेडिकल उपकरण निर्यात भएका छन् । मार्च र अप्रिल महीनामा यस्ता वस्तुको निर्यात ७१ अर्ब २० करोड डलर थियो ।

सामान विक्री गर्न गाह्रो भइरहेका र सीमापारको अर्डर रद्द भएका चिनियाँ निर्यातकर्ता मध्ये कतियले कर्मचारी कटौती गरिरहेका छन् । केहीले भने घरेलु बजारलाई लक्षित गरेर ई–कमर्शतर्फ लागिरहेका छन् । एजेन्सी

प्रकाशित मितिः     २५ जेष्ठ २०७७, आईतवार १७:४२  |