गाउँ पुगे बैंक तथा वित्तीय संस्था


बाँके :  आय–आर्जनको स्रोत बढ्दै गएपछि बाँकेको राप्तीसोनारी गाउँपालिकामा बैंक तथा वित्तीय संस्था थपिने क्रममा छन् । कुनै बेला निक्षेप जम्मा गर्न र ऋण लिन कृषी विकास बैंकको भर पर्नुपथ्र्यो ।

तर स्थानीय तहमा जनप्रतिनिधिको आगमनसंगै पालिकाभर आर्थिक गतिविधि चलायामान हुँदै गएको छ भने सहकारीदेखि ठुलो कर्मशियल बैंकसम्मले शाखा खोलेका छन् । पालिकाका अध्यक्ष लाहुराम थारु भन्छन–‘आर्थिक गतिबिधि हिजो भन्दा आज धेरै बढेको छ । त्यसै कारणले यहाँ बैंक तथा वित्तीय संस्थाको आर्कषण रहेको महसुस गरेका छौं ।’

राप्ती सोनारी गाउँपालिका जनसंख्याको हिसावले देशकै सबैभन्दा ठुलो स्थानीय तह हो । गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा.पा.,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ ।

साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ ।  प्राकृतिकरुपमा धनी यो गाउँपालिकाको मुख्य स्रोत कृषी, पशुपालन रहेको छ । पर्यटन अर्को सम्भावना हो । स्थानीयस्तरमा साना ठुला उद्योग नभएका भने होइन । उत्तरक्षेत्रको राजमार्गक्षेत्रमा भने बिभिन्न पेशा व्यवसाय अपनाउँदै आएका छन् । गाउँपालिकाका अध्यक्ष थारु भन्छन्–‘यस्ता धेरै अवसर र चुनौतीका हामी माझ छ । समग्रमा राप्तीसोनारीको भविष्य शुन्दर छ ।’ पालिका अध्यक्ष थारु स्थानी नागरिकको आयआर्जन बृद्धि गर्न बिभिन्न कार्यक्रम लागु गरिएको बताउँछन् ।

आयआर्जनको सम्भावना बढेसंगै स्थानीय र राष्ट्रियस्तरका वाणिज्य बैंकले शाखा खोलेर कारोवार गरिरहेका छन् । सहकारी र अहिले लद्यु वित्तले समुह बनाएर ऋण प्रवाह गरी आयआर्जनलाई थप सहायता गरिरहेका छन् । उपकार लद्यु वित्त वित्तिय संस्था शाखा प्रबन्धक कमला केसी राप्तीसोनारीमा स्थानीयको आयआर्जनमा परिवर्तन आएको बताउँछिन् ।


उनी भन्छिन्–‘हिजोको भन्दा अहिले आयस्रोत थपिएका छन् ।’
नेपालगन्ज र कोहलपुर जस्ता शहरमा बैंकिङ्ग प्रतिश्पर्धा चलिरहेको छ । शहरोन्मुख बजारमा शाखा विस्तार गर्न बैंकहरुको होडबाजी नै चलेको छ । हरेक वर्ष बैंक तथा वित्तीय संस्थाका शाखा खुल्ने क्रम बढेको छ । संघीयतापछि राष्ट्र बैंकले बैंकिङ्ग सेवा नपुगेका स्थानीय तहमा वाणिज्य बैंकहरुले अनिवार्य शाखा विस्तार गर्नुपर्ने नीति बनाएपछि गाउँमा बैंकहरु त पुगेका छन् ।

स्थानीय तहको गठनसँगै बाँकेका बैजथाथ, राप्तीसोनारी, नरैनापुर, खजुरा लगायतका ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्था पुग्न खोजे पनि त्यो पर्याप्त छैनन् । सर्वसाधारणमा वित्तीय साक्षरताको अभाव छ । वित्तीय साक्षरताका बिषयमा जतिसक्यो जानकारी गराउन आवश्यक छ । वित्तीय संस्थाहरु शहर केन्द्रीत भएकै कारण वित्तीय साक्षरता अभियान गाउँमा पुग्न सकेको छैन ।

कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश रावतले ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता अभियान चलाउन आवश्यक रहेको बताए । उनी भन्छन्, ‘यही कुराको आवश्यकता महसुस गरी हामीले ग्रामीण क्षेत्रमा शाखा बिस्तार गर्ने र वित्तीय साक्षरता गाउँमा पुर्याउने लक्ष्य राखेका छौं ।’

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानीजस्ता विषयमा जानकारी दिने गरेको पनि प्रयाप्त नभएको प्रमुख कार्यकारी अधिकृत रावतले बताए । उनले भने, ‘साक्षरता अभियानमा सबै बैंकहरुले हातेमालो गर्दै अघि बढ्नुपर्छ । सेवाग्राहीलाई पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणजस्ता विषयमा सिकाउन जरुरी छ ।’

कर्णाली लगायतका बैंकले राप्तीसोनारीमा शाखा बिस्तार गरेका छन् । साकार कृषी सहकारी संस्था का मुख्य व्यवस्थापक जमानसिंह ओली राप्तीसोनारीका नागरिकमा आयआर्जनका स्रोत थपिएको बताउँछन् । यद्यपी वित्तीय संस्था थपिए अनुसारको थप आयआर्जनका कार्यक्रम गर्नुपर्ने उनको सुझाव छ । समृद्धि राप्तीसोनारीबाट

प्रकाशित मितिः     3:24:12 PM  |