लोनमा किनेको गाडी थन्कियो ? या बिग्रेर बनाउने पैसा भएन ? अब लिनुस् सस्तोमा ऋण


सार्वजनिक गाडी किनेर जीवन गुजारा चलाउँदै आउनुभएको छ ? ४ महिनासम्म गाडी कुदाउन नपाएर गाडीको सर्भिस गर्नेसम्म पैसा छैन ? या लामो समयसम्म थन्क्याएर बिग्रियो र फेरि संचालन गर्न समस्या भयो ? त्यसो हो भने तपाईंले अब धन्दा नमान्नुस् ।तपाईंहरू जस्तैलाई अब नेपाल राष्ट्र बैंकले ५ प्रतिशत मात्रै ब्याजदरमा पुनर्कर्जा दिने व्यवस्था मिलाएकाे छ । जुन पुनर्कर्जाले तपाईंकाे घाटामा गएको व्यवसायले फेरि नयाँ जीवन पाउनेछ ।

बैंकबाट त गाडी नै लोनमा निकालेको अब बैंंकले कुन कर्जा दिन्छ र ? भन्ने तपाईंलाई लाग्न सक्छ । साना व्यवसायीहरूलाई लक्षित गरेर राष्ट्र बैंकले कर्जा लिएकाहरूलाई पनि थप कर्जा दिने व्यवस्था गरेको छ, जसलाई पुनर्कर्जा भनिन्छ । यसरी तपाईंले थोरै ब्याजदरमा कर्जा लिएकै बैंकबाट पुनर्कर्जा लिन सक्नुहुनेछ ।

राष्ट्र बैंकले कोभिड –१९ बाट प्रभावित व्यवसायहरूलाई पुनः न्यून ब्याजदरमा पुनर्कर्जा दिने व्यवस्था गरेको छ । जसका लागि तपाईंले आजदेखि १४ असोजसम्म आवेदन दिन सक्नुहुनेछ । राष्ट्र बैंकले १ भदौ  देखि पुनर्कर्जाका लागि निवेदन आह्वान गरिसकेको छ ।

राष्ट्र बैंकले सार्वजनिक यातायात व्यवसायीहरूलाई अति प्रभावित वर्गमा राखेर न्यून ब्याजदरमा थप कर्जा दिने व्यवस्था गरेको हो । सार्वजनिक यातायातबाहेक ५० प्रकारका व्यवसाय अति प्रभावित क्षेत्रमा राखेर पुनर्कर्जाको व्यवस्था गरिएकाे छ ।

यी व्यवसाय पर्छन् अतिप्रभावित सूचीमा

पर्यटनतर्फ : ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, र्‍याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा ।

होटलतर्फ :  पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष ।

साहसिक पर्यटनतर्फ : स्किइङ, ग्लाइडिङ, वाटर र्‍याफ्टिङ, हट एयर व्यालुनिङ, क्यानोइङ, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ, हिमाल आरोहरण र अवलोकनलगायत ।

अन्यमा : गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केबुलकार, हवाई तथा पर्यटकीय यातायात ।


मनोरञ्जनतर्फ : मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, वितरण, सिनेमा हल ।

रोजगारीतर्फ : स्वदेश वा विदेशमा रोजगार गुमेका श्रमिक ।

कृषितर्फ :  तरकारी, फलफूल, पुष्प, माछामासु, दाना, दूध तथा दूधजन्य उत्पादन, अण्डा उत्पादन तथा बिक्री वितरण, कुखुरापालन व्यवसाय, पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय र तयारी पोशाक, हस्तकला तथा सीपमूलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक संस्था, शैक्षिक परामर्श सेवा प्रदायक आदिलाई काेभिड–१९ बाट अतिप्रभावित सूचीमा राखेर पुनर्कर्जाका व्यवस्था गरेको हो ।

यसरी लिन सकिन्छ

तपाईंले पुनर्कर्जाको आवेदन दिनुपूर्व निम्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ । जस्तो, तपाईं व्यक्तिगत वा संस्थाले माग गर्ने कुल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्नेछ । तपाईंले पुनर्कर्जा माग गर्दा भुक्तानी गर्नुपर्ने पहिलो कर्जाको अवधि १ वर्षको हुनुपर्नेछ ।

त्यस्तै, एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक/वित्तीय संस्थामार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गर्नुपर्नेछ ।

पुनर्कर्जाका लागि आवेदन गरिएकोे कुल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाअन्तर्गत हुने गरी माग गर्नुपर्नेछ ।

योसँगै  यदि तपाईंले आवेदन गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट गएर कर्जा लिने बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्नेछ ।

यसरी तपाईंले नियमपूर्वक कागजातहरू पेस गरेमा तपाईंले ५ प्रतिशत ब्याजदरमा पुनर्कर्जा पाउन सक्नुहुनेछ । यो पुनर्कर्जा तपाईंले कर्जा लिएको बैंक तथा वित्तीय संस्थाबाट लिन सक्नुहुनेछ ।

प्रकाशित मितिः     1:49:02 PM  |