बिहिवार कोहलपुरमा थपिएका संक्रमित सेनाको पश्चिम पृतनाका प्रशिक्षार्थी सैनिक


नेपालगन्ज ४ भदौ : कोहलपुरमा बिहिवार थपिएका संक्रमित सेनाको पश्चिम पृतना शिक्षालय कौशिल्यानगरका भएको पाइएको छ । बाँकेमा नेपाली सेनाका १७ जवानसहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहिवार संक्रमित भएकाहरुमा नेपाली सेनाका १७ जना, जानकी गाउँपालिकाका क्वारेन्टाइनमा बसेका ५ जना, कन्ट्र्याक्ट ट्रेसिङमा परेका १ जना र एकजना स्वास्थ्यकर्मी रहेका छन ।

संक्रमित नेपाली सेनाका १७ जवान पश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरमा तालिमरत प्रशिक्षार्थीहरु हुन । जसमध्ये कोहलपुरसहितका १२ जना जिल्ला भित्रकै हुन भने ओखलढुङ्गाका १, जुम्लाका १, स्याङ्जाका १, पाल्पाका १ र गुल्मीका १ जना रहेका छन । ५ नम्बर प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका सेनाका जवानहरु उक्त शिक्षालयमा तालिम लिन आउने गर्दछन । यस अघि पटक पटक गरी उक्त शिक्षालयमा तालिमरत १३ जना सेनाका जवानमा कोरोना संक्रमण पुष्ट भइसकेको छ ।

बाँकेमा यो सङ्गै कोरोनाबाट संक्रमित हुनेको संख्या ७ सय ८७ पुगेको छ । जसमध्ये, ४ जनाको मृत्यु भइसकेको छ भने ४ सय ९६ जना निको भएर घर फर्केका छन । अब २ सय ८७ जना विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन ।

प्रकाशित मितिः     ४ भाद्र २०७७, बिहीबार १८:०४  |