कम मूल्यका उत्कृष्ट ४ मोटरसाइकल, यस्तो मूल्य


काठमाडौं । नेपालमा धेरै बिक्री हुने मध्यमा कम्यूटर सेग्मेन्टका मोटरसाइकल रहेका छन् । सहरी तथा तराई क्षेत्रमा धेरै बिक्री हुने १२५ सीसीका मोटरसाइकलमा होन्डा, बजाज, टीभीएस र यामाहाका उत्पादन बीच कडा प्रतिस्पर्धा रहँदै आएको छ ।

१२५ सीसी सेग्मेन्टमा बजारमा हिरोको उपस्थिति भने कमजोर रहेको छ । हिरोले १०० सीसी तथा ११० सीसी सेग्मेन्टमा आफ्नो धेरै मोटरसाइकल बिक्री गर्दै आएको छ ।

१२५ सीसी सेग्मेन्ट लिडरको रुपमा होन्डा सीबी साइन रहेको छ । तर, केही समयअघि मात्रै नेपाल आएको पल्सर १२५ ले कडा टक्कर दिने देखिएको छ । साथै, तराई क्षेत्रमा टीभीएस स्ट्राइकर र यामाहा सलुटोको बिक्री राम्रो रहेकाले होन्डा साइनलाई पक्ष्याउदै आएका छन् ।

होन्डा सीबी साइन नेपाली बजारमा १२५ सीसी सेग्मेन्ट लिडर हो । विगत १० वर्षभन्दा बढी समयदेखि यसले नेपाली बजारमा एकछत्र राज गर्न सफल भएको मान्न सकिन्छ ।

यो मोटरसाइकलमा १२४ सीसी क्षमताको इन्जिन रहेको छ । यो इन्जिनले १०।१६ बीएच पावर तथा १०।३० एनएम टर्क जनेरेट गर्छ । सीबी साइन एसपीको मूल्य २ लाख ३१ हजार ९ सय रुपैया रहेको छ भने, सीबी साइनको मूल्य २ लाख ९ हजार ९ सय रुपैयाँ रहेको छ ।

बजाज पल्सरमा १२४ सीसी क्षमताको इन्जिन जडान गरिएको छ । यो इन्जिनले ८५०० आरपीएममा १२ पीएसको पावर र ६५०० आरपीएममा ११ एनएमको टर्क जेनेरेट गर्छ ।

यसको फन्टमा २४० एमएमको डिस्क र रियरमा १३० एमएमको ड्रम ब्रेक रहेको छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ । यसमा ११ लिटर फ्यूल ट्याङक रहेको छ भने १७ इन्चको अलाय ह्वील दिइएको छ । यसको मूल्य २ लाख २६ हजार ९ सय रुपैयाँ रहेको छ ।


टीभीएस स्ट्राइकर १२५ मा रहेको सिङ्गल सिलिन्डर फोर स्ट्रोक एयरकुल्ड १२४ सीसी इन्जिनले ८ हजार आरपीएममा ११ बीएच पावरका साथै ५ हजार ५ सय आरपीएममा १०।८ एनएम टर्क उत्पादन गर्छ ।

यसको अगाडिको ह्वीलमा डिक्स र पछाडि ड्रम ब्रेक लगाइएको छ । यसले प्रतिलिटर ६७ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दावी छ । यसको टप स्पीड क्षमता प्रतिघन्टा ९० किलोमिटर रहेको छ ।

यसमा १७३ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने १७ इन्च अलोय ह्वील लगाइएको छ । यसको नेपाली बजारमा मूल्य १ लाख ९६ हजार ९ सय रुपैयाँ रहेको छ ।

स्ट्राइकरको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन, रियरमा हाइड्रलिक ड्याम्पर लगाइएको छ । स्ट्राइकरमा १४।५ लिटर क्षमता भएको इन्धन ट्याङ्की रहेको छ भने बाइकमा ट्यूवलेस टायर, पूर्ण डिजिटल स्पीडोमिटर र पछाडि एलइडी लाइट समेत रहेको छ ।

यस्तै यामाहाले सलुटो १२५ नेपाली बजारमा बिक्री गरिरहेको छ । १२५ सीसीको ब्लुकोर इन्जिन जडित यामाहा स्यालुटो उच्च कोटीको पर्फर्मेन्स, उत्कृष्ट माइलेज र विश्वसनीय ब्राण्डको कारण ग्राहकमाझ लोकप्रिय रहेको छ । यो इन्जिनले ८ बीएच पावर तथा ८ एनएम टर्क जेनेरेट गर्छ ।

यामाहाले नेपाली बजारमा बिक्री गर्दै आएको सबैभन्दा सस्तो बाइक पनि सलुटो नै हो । नेपालको लागि यामाहाको आधिकारीक वितरक एमएडब्ल्यूले बिक्री गर्दै आएको सलुटो १२५ डिस्क ब्रेक र ड्रम ब्रेक अप्सनमा उपलब्ध रहेको छ । डिस्क ब्रेक भएको बाइकको मूल्य २ लाख १३ हजार ९०० रुपैयाँ रहेको छ ।

प्रकाशित मितिः     1:03:15 PM  |