खुर्सानीले यो वर्ष मूल्य नपाउँदा पाल्पाका कृषक मारमा


भदौ ५, रामपुर(पाल्पा):  बगनासकाली गाउँपालिका ­१ माडीफाँटका कृषक एकदेव पाण्डेय खुर्सानीले बजार नपाउँदा समस्यामा परेका छन् । खुर्सानी बेचेर रू। २ लाखभन्दा बढी आम्दानी हुने अनुमान गरिए पनि यस पटक बजार मूल्य नहुँदा सस्तोमा विक्री गर्नुपरेको उनी गुनासो गर्छन् ।

उनले करीब साढे दुई रोपनी जग्गामा खुर्सानी लगाएका छन् । अघिल्लो वर्ष प्रतिकिलो रू। ९० देखि १०० मा खुर्सानी विक्री गरेका पाण्डेयले यस पटक मुस्किलले रू।२० देखि रु २५ मा बेच्नु पर्दा कृषकलाई सित्तैमा बेच्नु सरह जस्तै भएको बताए ।

‘खुर्सानीका बोट र उत्पादन राम्रै थियो, बजारमा विक्री गर्न खोज्दा अघिल्लो वर्षको तुलनामा आधा पनि मूल्य पाउन सकिएन, कतिपय खुर्सानी बजार नपाएर बोटमै पनि कुहिएर गयो’, पाण्डेयले भने ।

खुर्सानीले बजार नपाउँदा खेती गर्ने उत्साह नै हराउँदै गएको बगनासकाली­१ चिलाङ्दीका कृषक कपिल ढुङ्गाना बताउँछन् । उनले दुई वर्षदेखि दुई रोपनीमा खुर्सानी खेती गर्दै आएका छन् । बगनासकाली गाउँपालिकाले वडा नं १ चिर्तुङ्गधारा क्षेत्रमा खुर्सानीको पकेट क्षेत्र विस्तार कार्यक्रम शुरु गरेको छ । यहाँका ९० जना कृषक यस व्यवसायमा आबद्ध छन् भने करीब ६० रोपनी क्षेत्रफलमा खुर्सानी लगाइएको छ ।

गतवर्ष गाउँपालिकाले खुर्सानी खेती बिस्तार कार्यक्रमका लागि प्राङ्गारिक मल, बीउ, मल्चिङ्ग प्रविधि सहयोग गरेको कृषि शाखा प्रमुख राजेश बोहराले जानकारी दिए । माथागढी गाउँपालिका­- ४ झडेवा क्षेत्रमा छ ओटा समूहमा व्यावसायिक रुपमा नै खुर्सानी खेती थालिएको छ । गतवर्षदेखि गाउँपालिकाले यो क्षेत्रलाई खुर्सानी पकेट क्षेत्रका रुपमा बिस्तार गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको छ ।

गाउँपालिकाले गत वर्षमा रू.२ लाख बजेटबाट कृषकलाई जैविक मल, खुर्सानीका बीउ वितरण गरिएको र यसवर्ष खुर्सानी पकेट क्षेत्र विस्तार कार्यक्रमका लागि रू.१ लाख रकम विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताए । यहाँ करीब ६० रोपनी क्षेत्रफलमा खुर्सानी खेती गरिएको छ भने यस खेतीमा १०० जना कृषक आबद्ध रहेको कृषि शाखा प्रमुख सीता खाम्चा मगरले बताए ।

उनका अनुसार गाउँपालिकामा यसपटक पकेट क्षेत्र कार्यक्रमअन्र्तगत लगाइएको खुर्सानी करीब ३५ हजार किलो उत्पादन भइसकेको छ । बजार मूल्य नहुँदा अघिल्लो वर्षको तुलनामा आधाभन्दा कम मूल्य नै घटाएर विक्री गर्न कृषक बाध्य बनेका छन् ।

रामपुर नगरपालिकाको वडा नं ७ मा व्यावसायिक तवरले कृषकले खुर्सानी खेती शुरु गरेका छन् । नगरका सबैजसो वडामा खुर्सानी खेती गरेर मनग्य आम्दानी लिन सकिने भएपनि बजारको समस्या हुँदा कृषकले ठूलो क्षेत्रफलमा खुर्सानी खेती शुरु गर्न नसकेको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन् ।

पाल्पा जिल्लामा ६१ हेक्टर क्षेत्रफलमा खुर्सानी खेती गरिएको छ । जिल्लाको बगनासकाली, माथागढी क्षेत्रमा व्यावसायिक रुपमा खुर्सानी खेतीको शुरुआत भएको कृषि ज्ञान केन्द्र पाल्पाका बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए । थोरै जग्गामा खुर्सानी लगाएर आयस्रोत लिन सकिने भएपछि कृषकले अन्य खेतीसँगै यसको शुरु गरेको उनी बताउँछन् ।
कोरोनाको कहरका कारण होटल व्यवसाय तथा व्यापार, पसल, बजार बन्द हुँदा खुर्सानी लगाएर राम्रो कमाइ गर्ने मनसाय बोकेका कृषकहरु भने विक्री गर्ने माध्यम नहुँदा समस्यामा परेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउँछन् । ‘

खुर्सानीलाई सुकाई मेशिनबाट प्रशोधन गरी पाउडर बनाएर प्याकिङ्ग गरी बजारमा लैजाने सकिने हुँदा कृषकलाई तालिम र प्रविधिको सहयोग आवश्यक रहेको छ र त्यसका लागि कृषकबाट माग आएको खण्डमा कार्यालयले कार्यक्रम सञ्चालन गर्नेछ’, प्रमुख अर्यालले भने । तरकारी खेतीसँगै धेरेजसो कृषकले खुर्सानी खेती गर्ने गरेको पाइएको छ । रासस

प्रकाशित मितिः     ५ भाद्र २०७७, शुक्रबार १३:१४  |