प्रदेश ५ मा इन्जिनियरिङका ५३ र स्वास्थ्य सेवाका ७२ कर्मचारी माग गर्न स्वीकृति


नेपालगन्ज १८ भदौ :  प्रदेश ५ सरकारले इन्जिनियरिङका ५३ र स्वास्थ्य सेवाका ७२ कर्मचारी माग गर्न स्वीकृति दिएको छ । बिहिवार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश निजामती सेवा अन्तर्गतका पदमा खुला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगमा इञ्जिनियरिङतर्फका ५३ र स्वास्थ्य सेवातर्फका ७२ जना कर्मचारी माग गर्न स्वीकृति दिएको छ ।

इञ्जिनियरिङतर्फ हाइवे सिभिल १८, जनरल सिभिल ५, सिञ्चाई ८, सेनेटरी १ विल्डिङ आर्किटेक्चर १३, मेकानिकल ५, इञ्जिनियर सिभिल २, हाइड्रो जिओलोजिस्ट १ जना गरी ५३ जना दरबन्दी रहेका छन् ।

स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौं ४९, नर्सिङ अधिकृत सातौं ११, फिजिओथेरापिस्ट सातौं ५ र मेडिकल ल्याब टेक्नोलोजिष्ट ७ जना गरी ७२ जनाको दरबन्दी स्वीकृत भएको छ ।


यस्तै प्रदेश ५ औद्योगिक व्यवसाय ऐन २०७५ मा संशोधन र एकीकरण सम्बन्धी कानुनी व्यवस्था गर्न बन्ने विधेयकका सम्बन्धमा तयार गरिएको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि वैठकले गरेको छ ।

यस्तै भूमिगत जल सिञ्चाईं आयोजना कार्यान्वयन कार्यविधि, २०७७, विज्ञान प्रविधि तथा बहु प्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रस्तावित नेत्रलाल अभागी रंगशाला निर्माणको योजना प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत कार्यान्वयन गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि वैठकले गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मितिः     3:24:24 PM  |