काठमाडौं । ह्याचव्याक कार सानो पार्किङ स्थान, उत्कृष्ट डिजाइन र लग्जरी फिचरले भरिपूर्ण कार मानिन्छ । यो सेग्मेन्टमा प्राय सबै कम्पनीले कार बिक्री गर्दै आएका छन् ।
त्यसमा पनि हुन्डाई ग्राण्ड आई १०, सुजुकी स्वीफ्ट, टाटा टियागो र फक्सवागन पोलो एक अर्काका मुख्य प्रतिस्पर्धी मोडल हुन् ।
यी ४ मध्येपनि सर्वाधिक बिक्री हुने हुन्डाई ग्राण्ड आई १० र मारुती सुजुकी स्वीफ्टलाई अन्य मोडलले पछ्याई रहेका छन् ।
मूल्य
मूल्यको हिसावले पनि ग्राण्ड आई १० र स्वीफ्टको बीचमा कडा प्रतिस्पर्धा रहँदै आएको छ । यी दुबै कारको मूल्य २९ लाखदेखि ३२ लाख रुपैयाँ रहेको छ ।
हुन्डाई ग्राण्ड आई १० र स्वीफ्ट दुबै दुई भेरियन्टमा नेपालमा बिक्री वितरण हुँदै आएका छन् । हुन्डाईले ग्राण्ड आई १० को पेट्रोल भेरियन्ट नेपालमा बिक्री गर्दै आएको छ । जसमा २०१९ मोडल मग्ना भेरियन्टको मूल्य २९ लाख ५६ हजार र स्पोट्ज भेरियन्टको मूल्य ३१ लाख ९६ हजार रुपैयाँ रहेको छ । २०२० मोडल भने दुबै भेरियन्ट १ लाख रुपैयाँले महंगो रहेको छ ।
मारुती सुजुकी स्वीफ्ट भिएक्सआई भेरियन्टको ३० लाख ९९ हजार र जेडएक्सआई भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
फक्सवागन पोलोको सुरुवाति भेरियन्ट ट्रेन्डलाइनको मूल्य भने २८ लाख ९५ हजार, ट्रेन्डलाइन प्लसको २९ लाख ४५ हजार, कम्फर्टलाइनको ३१ लाख ९५ हजार, हाइलाइनको ३५ लाख ४५ हजारसम्म तोकिएको छ ।
त्यसैगरि टाटा टियागो पनि ४ भेरियन्टमा उपलब्ध रहेको छ । टिगोर एक्सइ भेरियन्टको मूल्य २४ लाख ९९ हजार, एक्सएमको २८ लाख ५५ हजार, एक्सजेडको ३० लाख ९९ हजार र एक्सजेड प्लसको ३१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
४ मोडल ८ भेरियन्टमा प्रतिस्पर्धा
मूल्यका हिसावले लिँदा फक्सवागन ट्रेन्डलाइन प्लस र कम्फर्टलाइन तथा टाटा टियागो जेडएक्स र जेडएक्स प्लस भेरियन्टले स्वीफ्ट र ग्राण्ड आई १०का दुई दुई भेरियन्टसँग सिधा प्रतिस्पर्धा गर्ने देखिन्छ ।
यी सबै भेरियन्टको मूल्य उस्तै रहेकाले हामीले यहाँ ग्राण्ड आई १० मग्ना, स्वीफ्ट भिएक्सआई, फक्सवागन ट्रेन्डलाईन र टियागो जेडएक्स भेरियन्टको मासिक किस्ता प्रस्तुत गर्दैछौं ।
मासिक किस्ता
यी सबै कारमा कम्पनीले कम्तीमा १ लाख २५ हजार रुपैयाँ नगद छुट प्रदान गरेका छन् । अवस्था र ग्राहकको बार्गेनिङ पावरले थप छुटसमेत पाउन सक्ने अवस्था रहेको भएपनि हामीले सबै मोडलमा १ लाख २५ हजार रुपैयाँ छुट राखेर मासिक किस्ता निकालेका छौं ।
हुन्डाई ग्राण्ड आई १० को मासिक किस्ता
अब कुरा गरौं, हुन्डाई ग्राण्ड आई १० मग्ना भेरियन्टको । कम्पनीले यसको मूल्य २९ लाख ५६ हजार रुपैयाँ तोकेको छ । त्यसमा १ लाख २५ हजार रुपैयाँ घटाउदा ग्राहकले २८ लाख ३१ हजार रुपैयाँ तिर्नु पर्छ ।
केन्द्रिय बैंकको नीति अनुसार ५० प्रतिशतभन्दा बढी बैंकहरुले अटो कर्जा प्रबाह गर्न पाउने छैनन् । यस नियम अनुसार ग्राहकले मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ भने ५० प्रतिशत रकम ८ वर्षसम्मको लागि बैंकबाट कर्जा लिन सक्ने छन् ।
यसरी ग्राण्ड आई १० किन्ने ग्राहकले १४ लाख १५ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्छ भने त्यति नै रकम बैंकबाट कर्जा दिन सक्ने छन् ।
अहिले अधिकांश बैंकबाट अटोकर्जा ९ प्रतिशत हाराहारीमा पाउन सकिन्छ । राष्ट्रिय बाणिज्य बैंक, एनआईसी एशिया बैंक, स्ट्याडर्ड चाटर्ड बैंक जस्ता संस्थाबाट कर्जा लिएर गाडी किन्नेले ८।५ प्रतिशतमा नै कर्जा लिन सक्ने छन् । यदी तपाईले ८।५ प्रतिशत व्याजदरमा कर्जा लिएर ग्राण्ड आई १० किन्नु भयो भने यसको मासिक किस्ता २० हजार ३७२ रुपैयाँ हाराहारी पर्ने छ ।
मारुती सुजुकी स्वीफ्टको मासिक किस्ता
स्वीफ्ट भिएक्सआई मोडलको मूल्य ३० लाख ९९ हजार रुपैयाँ रहेको छ । यसलाई पनि ८ वर्षे कर्जा, ५० प्रतिशत डाउन पेमेन्ट र १ लाख २५ हजार नगद छुटले हिसाव गर्दा ग्राहकले सुरुवातमा १४ लाख ८७ हजार रुपैयाँ नगद तिर्नु पर्ने हुन्छ भने त्यति नै रकम बैंकबाट कर्जा लिनु पर्छ ।
बैंकबाट ८.५ प्रतिशत वार्षिक व्याजदरमा कर्जा लिँदा गाडी किन्ने मासिकले मासिक २१ हजार ४०१ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
टाटा टियागोको मासिक किस्ता
टाटाको टियागो एक्सजेड भेरियन्टको मूल्य ३० लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा पनि ८ वर्षे कर्जा, ८.५ प्रतिशत व्याजदर, ५० प्रतिशत डाउन पेमेन्ट र १ लाख २५ हजार नगद छुटले हिसाव गर्दा ग्राहकले सुरुवातमा १४ लाख ८७ हजार रुपैयाँ नगद तिर्नु पर्ने हुन्छ भने त्यति नै रकम बैंकबाट कर्जा लिनु पर्छ । यसको मासिक किस्ता २१ हजार ४०१ रुपैयाँ नै पर्न आउँछ ।
फक्सवागन पोलो ट्रेन्डलाइन प्लसको मासिक किस्ता
फक्सवागन पोलो ट्रेन्डलाइन प्लसको मूल्य २९ लाख ४५ हजार रुपैयाँ रहेको छ । यसमा कम्पनीले १ लाख २५ हजार नगद छुट दिँदा २८ लाख २० हजारमा ग्राहकले यो कार किन्न सक्छन् । माथिका अन्य मोडलको जस्तै ८ वर्षे कर्जा, ५० प्रतिशत डाउन पेमेन्ट र ८।५ प्रतिशतको दरले व्याजदर राखेर यसको खरिदगर्दा ग्राहकले १४ लाख १० हजार डाउन पेमेन्ट बुझाउनु पर्छ । यसको मासिक किस्ता भने २० हजार २९२ रुपैयाँ हाराहारी पर्छ ।
इन्जिनमा कति फरक
हुन्डाई ग्राण्ड आई १० मा ११९७ सीसी क्षमताको कपा डियूल भिटिभिटि पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८३ बीएच पावर र ११४ एनएम टर्क प्रदान गर्नेछ ।
मारुती सुजुकी स्वीफ्टमा पनि समान ११९७ सीसी क्षमताको के सिरिज भिभिटि पेट्रोल इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ८२ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्नेछ ।
त्यसैगरि फक्सवागन पोलोमा ९९९ सीसी क्षमताको थ्रि सिलिण्डर इनलाइन इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ७५ बीएच पावर र ९५ एनएम टर्क प्रदान गर्नेछ ।
टाटा टियागोमा ११९९ सीसी क्षमताको रिभोटर्न थ्रि सिलिण्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्नेछ ।