कोरोनाले चौपट पुष्प व्यवसाय


बनेपा। फूलको बढ्दो बजारमा आयातको परिमाण देखेर व्यवसायीले हतार हतार लगानी बढाएका थिए।

बैंकबाट ऋण, जग्गा भाडा र कामदार राखेर नेपाली बजारको माग धान्न कस्सिएका व्यवसायी ६ महिनायता टाउकोमा हात लगाइरहेका छन्।

ग्रीन हाउसभित्र फूल ढकमक्क हुन्छन्। बिक्री नै छैन। फूल फुलेर ओइलिँदै गएपनि बजार नपाएपछि व्यवसाय भने सामान्य गोडमेल र सरसफाइ बाहेकका अरु काम गर्ने अवस्था नै नभएको पुष्प व्यवसायी बताउँछन्।

काभ्रेपलाञ्चोकको बनेपा–९ नयाँ बस्तीमा रहेको चण्डेश्वरी फ्लोरिकल्चरमा फार्मका सञ्चालक व्यवसाय धरापमा परेको बताउँछन्। बजारीकरण गर्ने बेलामा कोरोना भाइरस महामारीका कारण बन्दाबन्दी भएपछि फूल ग्रीन हाउसमा नै सुकेर गएको छ। युवा व्यवसायी विकास वादे, प्राणनाथ कायस्थ र कान्छा मानन्धरले थालेको पुष्प व्यवसाय सुरुवातमा फस्टाएको थियो।

लगानी बढाएपछि भने बेच्नै नपाएर नोक्सानी बढिरहेको उनीहरूले बताएका छन्। काभ्रेमा उत्पादित फूलको माग काठमाडौंको बजारमा भएका कारण पछिल्लो समयमा जिल्लामा फूल उत्पादन गर्ने पुष्प व्यवसायी बढेका थिए।

फार्म सञ्चालक प्राणनाथ कायस्थ भन्छन् -अरुले खेती गरेको देखेपछि साथी मिलेर गरेको खेती राम्रो भएको थियो। अहिले बजारसम्म लानै पाइएन। लगानी गर्नुमात्रै भयो। करिब ४० लाख लागतमा १२ वटा ग्रीन हाउस बनाएर खेती गरेको तर बजार लान नपाउँदा घाटा व्यहोर्नुपरेको अर्का सञ्चालक विकास वादेले बताए।

बन्दाबन्दीमा पनि असार र साउनमा डेढ लाखसम्मको फूल बिक्री भएको थियो। त्यसले ज्याला समेत नउठेको उनले बताए। एकातिर बजार नपाउनु अर्कोतिर अलि अलि गरेर बेचेको फूल पनि बजार भाउभन्दा आधै मूल्यमा दिनु परेको उनको गुनासो छ। लकडाउन नभएको भए यस बीचमा करिब ६ लाखको फूल बिक्री हुनेथियो,- उनले भने। उक्त फार्ममा जर्वेरा, पिकक्, जिप्सी, सयपत्री र रजनीगन्ध ट्युरोज लगायतका फूल छन् ।

अर्का पुष्प व्यवसायी सरराज उप्रेतीले यस वर्ष उत्पादन भएको फूल बिक्री गर्न नपाएरै सुकेर गएको बताए। दुई वर्ष अघि खोलिएको प्राणनाथ फ्लोरा फार्मले गत वर्ष सयपत्री फूलमात्रै सात लाख रुपैयाँको बेचेको थियो। यस वर्ष टनेलभित्र नै ओइलिएर गएको छ। फुलेको फूलहरु मल बनाउनुपर्यो,- उनले भने, -पोहोर मागअनुसार उत्पादन गर्न नसकेकोमा लगानी थपियो। यो वर्ष लगानी बालुवामा पानी नै भयो।

प्रकाशित मितिः     २० भाद्र २०७७, शनिबार १२:५४  |